नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

माओवादीका निर्वाचित जनप्रतिनिधीलाई प्रशिक्षण सुरु

ओखलढुङ्गान्युज १८ जेठ, काठमाण्डौं नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीवाट निर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण सुरु गरेको छ । स्थानीय तहको निर्वाचन २०७९ मा माओवादी केन्द्रका तर्फवाट निर्वाचित भएका जनप्रतिनिधीहरुलाई स्थानीय सरकार सञ्चालन तथा सेवा प्रवाहका बारेमा आजवाट दुईदिने प्रशिक्षण सुरुवात गरेको हो ।

बुधबार र बिहीबार दुई दिनसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवं पूर्वस्थायी समिति सदस्य सहभागी रहने माओवादी केन्द्रले जनाएको छ । काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिने छन् ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माण लगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने नेकपा माओवादी केन्द्रले जनाएको छ । उदघाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सहभागीलाई राजनीतिक प्रशिक्षण दिनेछन् । उदघाटन सत्रपछि पहिलो पूर्वमहान्यायधिवक्ता मुक्ति प्रधानले प्रशिक्षण दिनेछन् ।

त्यस्तै पहिलो दिन पार्टी स्कुल विभाग प्रमुख एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेल, स्थानीय तहका विज्ञ डा. खिमलाल देवकोटा, स्थानीय तह विभागका प्रमुख उर्मिला अर्याल र पूर्वमुख्यसचिव लीलामणि पौड्यालले प्रशिक्षण दिने कार्यक्रम छ ।

दोस्रो दिन अर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँल, पूर्वमन्त्री एवं पार्टीको श्रम, अर्थ तथा योजना विभागका प्रमुख वर्षमान पुन र चार्टर्ड एकाउन्टेन्ट चन्द्रकान्त भण्डारीले प्रशिक्षण दिनेछन् ।

माओवादीले यसअघि २०७४ सालको निर्वाचनमा विजयी जनप्रतिनिधिलाई पनि तीन दिन पार्टी केन्द्रीय कार्यालयमा प्रशिक्षण गरेको थियो । यसपटक विगतभन्दा परिमार्जित ढंगबाट प्रशिक्षणको आयोजना गरिएको माओवादीले जनाएको छ ।