मानव अधिकार आयोगको स्थापना दिवसको अबसरमा ओखलढुङ्गामा अन्तरक्रिया कार्यक्रम
ओखलढुङ्गान्युज । १३ जेठ, ओखलढुङ्गा । विहिवार ओखलढुङ्गामा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि राष्ट्रिय मानव अधिकार आयोगको स्थापना दिवस मनाईएको छ । आयोगको २३ औं स्थापना दिवस ओखलढुङ्गामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि मनाईएको हो ।
स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवाला व्यक्तिहरुले टोलटोलमा हुने मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी एवम् जानकारी समयमा नै सम्बन्धित ठाँउमा पुग्न नसक्दा अधिकार उल्ल्ंघनको घटना नियन्त्रणका साटो बढावा हुन लागेको वताएका थिए ।
मानव अधिकारको रक्षाका लागि सरोकारवाला निकाय तथा व्यक्तिहरुले आफ्नो जिम्मेवारीलाई आत्मासात गरेर बहन गरेमात्र पनि घटना कम हुने बताएका थिए । मानव अधिकार उल्लंघनको घटनालाई नियन्त्रणका लागि मानव अधिकार आयोगले स्थानीय सरकारहरुसँग समन्वय गरेर काम गर्नुपर्नेमा समेत जोड दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग प्रदेश शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुको संक्षिप्त मानव अधिकार अवस्था प्रस्तुत गरेका थिए । प्रस्तुतीका क्रममा खोटाङ शाखा प्रमुख काफ्लेले मानव अधिकार आयोगले गर्ने काम, कर्तव्य र अधिकारको बारेमा समेत जानकारी गराएका थिए ।
कार्यक्रममा उपस्थित भएका सहभागी अन्य बक्ताहरुले पनि मानव अधिकार उल्लङघनका घटनालाई न्युनिकरण गर्न प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम सिद्धिचरण नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।