नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा यूरिया मलको कालो बजारी, व्यापारीलाई जनप्रतिनिधीको संरक्षण

ओखलढुङ्गान्युज १२ जेठ, ओखलढुङ्गा मकैमा यूरिया मल राख्ने सिजनमा मल नपाउदा कृषकहरु आजित बनिरहेका छन् । मल नपाएको भनेर कृषकहरुले गुनसो गरिरहेका छन् । तर ओखलढुङ्गामा भने यूरिया मलको खुलेआम रुपमा कालो बजारी भैरहेको छ ।

औषत रुपमा ११ सय देखि १२ सय ५० सम्म पाईने यूरिया मलको अभाव देखाउदै ओखलढुङ्गामा भने खुलेआम रुपमा कालो बजारी मार्फत बिक्रि वितरण भैरहेको हो । जिल्ला सदरमुकामका केहि पसलेहरुले १ बोरा यूरिया मलको २८ सय देखी ३५ सय सम्म विक्री गरिरहेका छन् भने प्रतिकिलो ७० देखी ८० रुपैयासम्ममा विक्रि गरिरहेका छन् । साविक रुपमा एकवोरा यूरिया मलको कूल तौल ५० केजीको हुने भएपनि हाल बजारवाट विक्रि भैरहेको यूरियामल ४५ केजीको रहेको छ ।

सूचना पाउनासाथ प्रशासनले पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले बताउनुभयो । नियन्त्रणमा लिईएको किराना पसलका सञ्चालकले आफुले पनि बाहिरवाट २६ सयमा खरिद गरेर २८ सयसम्ममा विक्रि गरेको स्विकार गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । कृषि मलको उपलब्धताको बारेमा आफुले कृषि सस्थानसँग पनि सम्पर्क गरेर बुझ्दा त्यहाँ पनि मल अभाव रहेको खबर गरेको प्रजिअ तामाङले बताउनुभयो ।

पसलेले पनि महंगोमा ल्याएर महंगोमा बेचेर भएपनि किसानहरुलाई केहि सहयोग पु¥याएकोले खोजेको बेला प्रहरीमा उपस्थित हुन र आईन्दा त्यसरी मल विक्रि नगर्ने सहमतीमा प्रहरीले छाडेको पनि प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो । प्रहरीले पसलका सञ्चालकलाई नियन्त्रणमा लिएपनि किराना पसल सञ्चालकले यूरिया मल विक्रि वितरण गर्न पाउने कि नपाउने भन्ने विषयमा केहि बोलेको छैन । त्यस्तै नियन्त्रणमा लिईएका सञ्चालकको पसलको स्टोरमा मल बाकी थियो कि थिएन भन्ने बारेमा पनि थप अनुसन्धान गरेको छैन ।

केहि दिन अगाडी ओखलढुङ्गामा बसेको जिल्ला पैरवी सञ्जालको बैठक बसेर किसानहरुको गुनासोका बारेमा प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन मार्फत ध्यानाकर्षण समेत गराएको थियो । ध्यानाकर्षण पश्चात जिल्ला प्रशासनले तत्काल एक्सन लिदै राम बजारका उत्सव किराना पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको थियो ।

पसलका सञ्चालकलाई नियन्त्रणमा लिएको केहि समयमा नै उनको संरक्षण गर्दै प्रहरीवाट छुटाउन जिल्ला प्रहरी कार्यालयमा नवनिर्वाचित जनप्रतिनिधीहरु पुगेका थिए । ठूलो आशाका साथ नागरिकले निर्वाचित गराएका जनप्रतिनिधीहरुले अनियमितता र कालोबजारी गर्नेहरुको संरक्षण गर्नेतर्फ लागेपछि नागरिकहरु भने रुष्ट बनेका छन् ।