नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

माओवादी केन्द्रका उम्मेदवार शम्शेरसिं लामा दुई पटक विजयी

ओखलढुङ्गान्युज । ५ जेठ, काठमाण्डौं । बर्दिवास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष शम्शेरसिं लामा दुई पटक विजयी भएका छन् । लामा पहिलो पटक वडा नं. ८ को मतगणना गरेर जेठ १ गतै नै विजयी भएको निर्वाचन आयोगले घोषणा गरेको थियो । दोश्रो पटक चिठ्ठा टिप्दा पनि लामा नै विजयी भएका हुन् ।

गत बैशाख ३० गते निर्वाचन सकिएसँगै बर्दिवास नगरपालिका वडा नं. ८ को मतगणना गरिएको थियो । मत गणनाका क्रममा ७५१ मत पाएर लामा विजयी भएको जेठ १ गते नै निर्वाचन आयोगले घोषणा गरेको थियो । लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए । वडा अध्यक्ष लामा पार्टीका नेता तथा कार्यकर्ता सहित गाउँ फर्किएर विजयी जुलुस मनाउदै थिए ।

तर विहिबार वडा नं. ८ को मतगणना नभएको एउटा मतपेटिका भेटिएको खबर लामालाई गरियो । सबै आश्चर्य चकित परे । निर्वाचन आयोगको विरोध भयो । तर माओवादी केन्द्रबाट विजयी भएको भनिएका लामा र पार्टीले यदि मत नगनिएको मतपेटिका भेटिएको नै हो भने जनमतलाई स्विकार गर्ने भन्दै बाकी मत गणना गर्न सर्वदलिय बैठकमा सहमती जनाए ।

भेटिएको मतपेटिकामा जम्मा ८४ वटा मात्र मतपत्र थिए । मतपेटिकामा रहेको ८४ मतपत्र गणना गर्दा लामा र किङरिङले बराबर मत अर्थात दुवैले ७६७ मत प्राप्त गरे । दुवैजनाको बराबरी मत भएपछि आयोगका तर्फवाट गोला तान्न लगाईएको थियो । तर गोला तान्दा पनि एमालेका किङमिङले हारे । माओवादी केन्द्रका लामालाई पुनः विजयी भएको घोषणा गरिएको थियो । दोश्रो पटक विजयी भएको घोषणा गर्दा लामा भने मतगणना स्थलमा उपस्थित थिएनन् ।