नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा गाउँपालिका अध्यक्ष शेर्पाले लिए मातृभाषामा सपथ

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा स्थानीय निर्वाचन २०७९ अन्तर्गत ओखलढुङ्गाका सबै स्थानीय तहहरुको मतगणना सकिएको छ । मतगणना सकिएसँगै विहिबार अपरान्ह जिल्लाका १ नगरपालिका सहित ७ स्थानीय तहका प्रमुखहरुलाई प्रमुख निर्वाचन अधिकृत माननिय दल बहादुर केसीले सपथ ग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा एउटा फरक आवाज सुनिएपछि सबैको ध्यान उनै तर्फ खिचियो । किनकी त्यहाँ शेर्पा भाषाको छुट्टै आवाज सुनियो । प्रमुख निर्वाचन अधिकृत केसीले सपथ ग्रहणको कागज सातैजना प्रमुखहरुलाई नेपालीमा नै प्रिन्ट गरेको उपलब्ध गराउनु भएको थियो । सोहि बमोजिम सपथ ग्रहण गराउदा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले भने आफ्नै मातृभाषामा सपथ लिए । ६ जनाले नेपाली भाषामा र एकजनाले मातृभाषामा सपथ लिदा सबैको ध्यान शेर्पा तर्फ खिचिएको हो ।

जिल्लामा पहिलो पटक खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफ्नै मातृभाषामा सपथ लिएका हुन् । मातृभाषामा सपथ लिएको विषयमा जिज्ञासा राख्दा आफ्नो भाषा, धर्म र संस्कृतीलाई आफैले संरक्षण गर्नुपर्ने भन्दै आफुलेपनि मातृभाषामा सपथ लिएको प्रतिकृया दिए ।

जिल्लामा ८ स्थानीय तह भएपनि १ नगरपालिका सहित ७ स्थानीय तहका प्रमुखहरुले मात्रै आज सपथ लिएका हुन् । लिखु गाउँपालिकाका अध्यक्ष भने जिल्लामा समयमा नै उपस्थित हुन नसक्दा शुक्रबार विहान छुट्टै सपथ ग्रहण गराईने मुख्य निर्वाचन अधिकृत केसीले बताउनुभयो ।

विहिबार सपथ ग्रहण गरेसँगै सिद्धिचरण नगरपालिकाका जनप्रतिनिधीहरुले शुक्रबारवाटै आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । अन्य स्थानीय तहको हकमा भने गाउँपालिका प्रमुखहरु आफ्नो पालिका पुगेर निर्वाचित जनप्रतिनिधीहरुलाई सपथ गराएपछि शुक्रबार नै आफ्नो जिम्मेवारी सम्हाल्ने तयारी छ ।