नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

४ जना म्यादी प्रहरीको मृत्यु, ४८ निकालिए

ओखलढुङ्गान्युज । २७ बैशाख, काठमाण्डौं । स्थानीय तहको निर्वाचन २०७९को सुरक्षामा खटिएका ४ जना म्यादी प्रहरीको मृत्यु भएको छ । मृत्यु भएका मध्ये दुई जनाको लडेर मृत्यु भएको हो । एक जना मृत भेटिएको र एकजनाले भने आत्महत्या गरेको केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक विष्णुकुमार केसीले जानकारी दिए ।

मृत्यु भएका मध्ये बेलकोटगढी नगरपालिका १२ सतारेका २६ वर्षीय योगेन्द्र न्यौपानेको वैशाख ३ गते घरबाट कार्यक्षेत्रमा फर्किने क्रममा नुवाकोटमा भीरबाट मृत्यु भएको हो । त्यस्तै ४० वर्षीय दुर्गासिंह बस्नेतको पनि भीरबाट लडेर मृत्यु भएको हो । बस्नेत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ६ मा खटिएका थिए । वैशाख ८ गते मेलचौरमा प्रशिक्षणमा सहभागी हुने क्रममा चौतारा–नवलपुर सडक खण्डको डिलबाट खसेर उनको मृत्यु भएको हो ।

त्यस्तै हुम्ला सर्केगाड गाउँपालिका–६ घर भएका जसबहादुर रोकाया वैशाख १५ गते सिमकोटको माथिल्लो बजारमा मृत भेटिएका थिए । त्यस्तै, सिन्धुपाल्चोककी एक महिलाले भने विष सेवन गरेर आत्महत्या गरेकी हुन् ।

४८ जना म्यादी प्रहरी निस्कासित

स्थानीय तहको निर्वाचनका लागि भर्ना गरिएको १ लाख म्यादी प्रहरी मध्ये ४८ जनालाई निष्कासन गरेको प्रहरीले जनाएको छ । उनीहरुले आचरण विपरित काम गरेको भन्दै कारबाहीस्वरूप बर्खास्त गरिएको प्रहरीले जनाएको छ । केहि म्यादी प्रहरीलाई भने आचरण विपरितको कार्य गरेको भन्दै कानूनी कारबाहीका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

४० दिनका लागि निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीले प्रहरी जवान सरहको सेवासुविधा पाउने व्यवस्था छ । ओखलढुङ्गाका लागि पनि ५ सय भन्दा बढि म्यादी प्रहरी खटाईएको छ ।