कविता : आजकल
ओखलढुङ्गान्युज । २३ बैशाख, ओखलढुङ्गा ।
– दिल कुमार तामाङ
ओखलढुङ्गा
आजकल,
शहर बसेका टाठाबाठाहरु गाउं पसेका छन्
पाँच बर्षे बाली पकाउन कम्मर कसेका छन्
(उनीहरुलाई)
प्यारो लाग्न थालेको छ भूई मान्छेहरु
नमस्कार भाक्न मन जागेको छ भेटे जतिलाई
याद आउन थालेको छ बिर्सिएकाहरुको
आजकल…………
आजकल
सुनी सक्नु छैन,
पक्ष विपक्षका छेडछाड, आरोप-प्रत्यारोप र लान्छनाहरु
पत्याई सक्नु छैन,
नातिका पाला सम्म पुरा गर्न नसकिने कागजी बाचाहरु
बुझी सक्नु छैन,
पूर्व-पश्चिम र उत्तर-दक्षिण फर्केकाहरुको प्रेमसम्बन्धहरु
कम रोचकका छैनन्
एक आपसका छड्के, छिर्के र च्याखे दाउका दृश्यहरु
त्यतिनै रमाईलो छ,
सुन्नमा अमुकहरुका थोक अनि खुद्रा विकाउका खवरहरु
आजकल…………
आजकल,
भ्याई नभ्याई छ साना अनि ठूला टाउकेहरुलाई
त्यस्तै चटारो छ उनीहरुका भक्त लाउकेहरुलाई
अर्कालाई होच्याई आफू उचो बन्ने एकै चरित्र
साना ठूला सबैमा मिल्ने कस्तो है ! विचित्र
आजकल……
लेखकको अनुरोधमा यस कवितामा उहाँको तस्विर र जिम्मेवारी उल्लेख गरिएको छैन । – सम्पादक