नेपाली समय Loading...२०८२ असार २१ शनिबार

लिखुमा आफ्नो जित सुनिश्चित भएको माओवादी केन्द्रको दावी

ओखलढुङ्गान्युज २१ बैशाख, यसम स्थानीय निर्वाचन नजिकिएसँगै लिखु गाउँपालिकामा माओवादीका उमेद्वारहरुले कार्यकर्ता भेटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । घरघरमा पुगेर मतदाताहरुलाई भेटेसँगै मतदाताको आश्वासन पछि लिखु गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जित सुनिश्चित देखिएको नेताहरुले बताएका छन् ।

एमाले र कांग्रेसका नेतृत्वहरुसँग नागरिकहरु आजित भइसकेको यस पटक लिखु गाउँपालिकामा माओवादीलाई भोट दिएर जिताउने नागरिकहरुले बताएको नेकपा माओवादी केन्द्रका लिखु गाउँपालिकाका एक माओवादी नेताले बताए । चुनाव आउनु भन्दा अगाडी सम्म गठबन्धनको नाममा केहि सुस्ताएको माओवादी केन्द्र लिखुमा अहिले भने जित्ने माहौल बनेसँगै उत्साहका साथ घरदैलो अभियानमा खटिएको छ ।

लिखुमा पालिका अध्यक्ष पदका उमेदवार मिलन विष्टलाई बैंकिङ कसुर गरेको मुद्दामा जिल्ला अदालत भक्तपुरले बैशाख १६ गते नै पक्राउ पूर्जि जारी गरेको छ । त्यस्तै दोहोरो नागरिकता लिएको कसुरमा समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ । उजुरी परेसँगै विष्ट विजय भएपनि उनको पद खारेज हुनसक्ने सम्भावना बढि छ ।

त्यस्तै नेपाली कांग्रेसवाट उमेदवार बनेका अशोक कार्कीको विरुद्धमा नेपाली कांग्रेसका नेता राजन सुवेदीले बागी उमेदवारी दिएका छन् । सुवेदीले उमेदवारी दिएसँगै कांग्रेस समर्थकको भोट सुवेदीले कटाउने निश्चित छ । एमालेका कार्यकर्ताले आफ्नै अध्यक्ष पदका उमेदवारलाई भोट दिएर पनि काम नलाग्ने भएपछि त्यताको भोट पनि माओवादीलाई आउने निश्चित छ । त्यसैले पनि लिखु गाउँपालिकामा माओवादी केन्द्रको जित सूनिश्चित जस्तै देखिएको छ ।