नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

एमाले लिखुका अध्यक्ष उमेद्वार विष्ट विरुद्ध पक्राउ पूर्जी जारी

ओखलढुङ्गान्युज २० बैशाख, ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकामा नेकपा एमालेवाट गाउँपालिकाको अध्यक्षको उमेद्वार बनेका मिलन कुमार विष्ट विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । विष्टले बैंकिङ कसुर तथा किर्ते गरेको कसुरमा जिल्ला अदालत भक्तपुरले पक्राउ पुर्जी जारी गरेको हो ।

जिल्ला अदालत भक्तपुरले विष्ट विरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई लेखि पठाएको हो । देशभर चुनावी माहौल तात्दै गर्दा वैशाख १६ गते अदालतले ओखलढुङ्गा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो ।

अध्यक्ष पदका उमेद्वार विष्टले दोहोरो नागरिकता लिएको भन्दै उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र महानगरीय प्रहरी परिसर काठमाडौंले समेत समेत अनुसन्धान सुरु गरेको छ । विष्टले जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुङ्गाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ ।

भक्तपुर जिल्ला अदालतले पठाएको पक्राउ पुर्जीमा उनलाई ठगी तथा लिखतसम्बन्धी कसुरमा फरार सूचीमा राखिएको प्रहरीले जनाएको छ । नेपाली कांग्रेसका लिखु गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अशोक कार्कीले निर्वाचन अधिकृतलाई एमालेको अध्यक्ष पदका उमेदवार विष्टले दोहोरो नागरिकता लिएको तथा बैंकिङ कसुरमा कालोसूचीमा परेको भनी उजुरी दर्ता गरेका थिए ।

निर्वाचन अधिकृत राजेशकुमार थापाले ‘पछि कानुनबमोजिम हुने गरी हाललाई मनोनयन पत्र खारेज गरिरहनु नपर्ने’ भनी निर्णय गरेपछि उनको उम्मेदवारी खारेज हुनबाट जोगिएको छ । तर प्रहरीले उनलाई फरार सूचीमा राखेर खोजबिन थालेको छ । निर्वाचन आयोगको मतदाता नामावली सूचीमा पनि फरक(फरक दुई नाम रहेको छ ।

विष्टले २०४७ सालमा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाबाट होमबहादुर विष्टका नाममा र २०५१ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट मिलनकुमार विष्ट नाममा अर्को नागरिकता लिएको पाइएको छ । यी दुवै नागरिकतामा उनको बुवाको नाम गणेशबहादुर विष्ट उल्लेख छ । उनले पोकली गाविस वडा नं. ४ ओखलढुङ्गा ठेगाना राखेर दुई ठाउँबाट नागरिकता लिएकोे पाईएको थियो ।