पढ्दै कमाउदै कार्यक्रमका लागि ओखलढुङ्गाका दुई विद्यालयले १०/१० लाख पाउने
ओखलढुङ्गान्युज । चैत १८, काठमाण्डौं । ओखलढुङ्गाका दुईओटा विद्यालयले पढ्दै कमाउदै कार्यक्रमका लागि नेपाल सरकारवाट १०÷१० लाख पाउने भएका छन् । पढ्दै कमाउदै कार्यक्रमका लागि छनौट भएको ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाको प्रबुद्ध मावि च्यानम र मोलुङ गाउँपालिकाको बरुणेश्वर मावि रामपुरले १०/१० लाख पाउने भएको हो ।

श्री बरुणेश्वर मावि रामपुर, मोलुङ २
पढ्दै कमाउदै कार्यक्रमका लागि केहिदिन अगाडी शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ओखलढुङ्गाका दुई सहित देश भरका १ सय ४० सामुदायिक विद्यालय छनोट गरेको थियो । छनौटमा परेका विद्यालयहरुका लागि प्रति विद्यालय १० लाखका दरले यो कार्यक्रमका लागि १४ करोड रूपैयाँ विनियोजन गरेको जनाएको छ । तरकारी खेती तथा पशुपालन गर्न जग्गा भएका प्राविधिक धारका सामुदायिक विद्यालयलाई छनोट गरिएको केन्द्रले जनाएको छ ।
यो कार्यक्रमका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत पुस २७ गते ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि २०७८’ जारी गरिसकेको छ । कार्यविधिअनुसार छनोट भएको प्रबुद्ध मावि च्यानमले कृषि तथा पशुपालन र बरुणेश्वर माविले पशुपालन सम्बन्धि कार्यक्रम चलाउन पाउनेछन् । कार्यक्रम सञ्चालनका लागि प्राप्त हुने बजेट सिधै विद्यार्थीले भने पाउने छैनन् । यसको बजेट विद्यालयहरूले सशर्त अनुदानका रुपमा पाउनेछन् । प्राविधिक विधामा अध्ययन गर्ने कक्षा–१२ सम्मका विद्यार्थीले यो कार्यक्रममा भाग लिन पाउने श्रोत विकास केन्द्रले जनाएको छ ।
गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै प्राविधिक विधामा अध्ययन गर्ने कक्षा–१२ सम्मका विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ सबै प्रदेशका केही विद्यालयमा नमुनाका रूपमा शुरुवात गरिने घोषणा गरेका थिए । सोहीअनुसार अहिले कार्यक्रम अघि बढेको हो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी बनाउने उद्देश्यले कार्यक्रम ल्याएको स्रोत विकास केन्द्रले जनाएको छ । यो कार्यक्रमबाट विद्यार्थी व्यावसायिक, सीपयुक्त एवं स्वावलम्बी नागरिक बन्न सहयोग पुर्याउने पनि सरकारको लक्ष्य छ । यसबाट विद्यार्थी आर्थिक लाभ पनि प्राप्त गर्नेछन्।