नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

२ हजारको नोट चलनचल्तीमा ल्याउन भारतको आग्रह

ओखलढुङ्गान्युज फागुन १४, काठमाण्डौं नेपालमा २ हजारको भारतीय नोट चलनचल्तीमा ल्याउन भारत सरकारले आग्रह गरेको छ । नेपालको परराष्ट्र मन्त्रालय मार्फत भारतले उक्त आग्रह गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपालले भारतीय साना नोटलाई मात्र प्रयोगमा ल्याउदा भारतवाट नेपाल आउने विभिन्न ब्यक्तिहरुलाई समस्या भएको भन्दै भारतीय २ हजार दरको नोट पनि प्रयोगमा ल्याउन नेपाललाई आग्रह गरेको हो । भारतमा रोजगारी गरि नेपाल फर्कने तथा भारतवाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरुले १ सय दरका नोटहरु मात्र बोकेर आउनु पर्दा समस्या भएको भन्दै भारतले नेपालसँग आग्रह गरेको बताईएको छ । तर नेपालले भने यहाँ रहेका पुराना एक हजार र पाँच सय दरका नोट सटही नगरेसम्म दुई हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको बैंक श्रोतले बताएको छ ।

हाल नेपालमा रहेका बैंकहरुसँग सात करोड रुपैयाँ बराबरका भारतीय पाँच सय र एक हजार दरका नोट रहेका छन् । ती नोट साटेपछि मात्रै दुई हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । नेपालका व्यक्तिहरुसँग भएका भारतीय पाँच सय र एक हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी अझैसम्म छैन । तथापी बैंकहरुसँग भएका सात करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।

भारतले कालो धन नियन्त्रणको लागि भन्दै २०७३ सालमा एक हजार र पाँच सय दरका नोटमा प्रतिबन्ध लगाएर दुई हजार दरका नोट निष्कासन गरेको छ । भारतले प्रतिबन्ध लगाएपछि नेपाल सरकारले पनि भारतीय पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगाएको छ ।