नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागी देम्बाडाँडामा म्याराथुन प्रतियोगिता

Demba Danda

ओखलढुङ्गान्युज । फागुन २, ओखलढुङ्गा । पर्यटन क्षेत्रको विकासका लागी ओखलढुङ्गामा प्याराग्लाइडिङ र म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । विगत चार वर्षदेखी निरन्तर रुपमा आयोजना गरिदै आएको उक्त प्रतियोगिता यस वर्ष पनि फागुन १८ गते आयोजना गरिएको प्रतियोगिताका आयोजकले जनाएको छ ।

म्याराथुन प्रतियोगिता ३३ सय ५० मिटर उचाईको थोलेदेम्बा डाँडादेखी देशकै दोश्रो अग्लो झरना पोकलीमा अन्त्य गरिने आयोजकले जनाएको छ । यी दुवै स्थल नेपाल सरकारको सय गन्तव्यको सूचिमा परेका छन् । फुल म्याराथुन प्रतियोगिता ४२ किलोमिटर लम्बाईको रहने छ । उक्त दिन म्याराथुन प्रतियोगितासँगै विश्वकै साहसिक खेल प्याराग्लाइडिङ समेत उडान गरिने आयोजकले जनाएको छ ।

म्याराथुन प्रतियोगितामा नेपालका ख्यातिप्राप्त धावकहरूको साथमा विदेशी धावकहरूको पनि सहभागिता रहने आयोजक समितिका सदस्य वाङडा शेर्पाले जानकारी दिए । २०७५ साल देखि सुरु गरिएको म्याराथुन प्रतियोगिता गत साल कोरोना भाइरसका कारण सञ्चालन नगरिएको र यो साल हुने प्रतियोगिता तेस्रो संस्करण रहेको समेत आयोजकले जनाएको छ ।

सोहिदिन प्याराग्लाइडिङमा विश्वको सबै भन्दा अग्लो स्थानबाट उडेर सबै भन्दा होचो स्थानमा झरेर विश्व रेकर्ड राखेका बाबु सुनुवारले समेत प्याराग्लाईडिङ उडान भर्नेछन् । त्यस्तै अन्य साहसिक प्याराग्लाइडरहरुले ३३ सय ५० मिटरको उचाइमा रहेको थोलेदेम्बा डाँडाबाट उडान गरेर पोकली झरना आसपासमा ल्यान्डिङ गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।