नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोना संक्रमण दर बढेसँगै माघ १५ सम्म सबै विद्यालय वन्द !

ओखलढुङ्गान्युज पुष २६, काठमाण्डौं  नेपालमा कोरोना संक्रमणको तेश्रो लहर सँगै कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्था लागू गरेको छ । कोरोना भाईरसको संक्रमण दर बढेसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्नेदेखि सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतवार मात्र देशभर १ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । खासगरी काठमाडौं उपत्यकाका साथै सीमा नाकाहरुमा संक्रमितको संख्या बढ्दो छ । औसतमा समग्र देशभरमा पनि संक्रमण दर ९ दशमलब ५ प्रतिशत पुगेको छ । डेल्टा भेरियन्ट कायमै रहेको र ओमिक्रोन भेरियन्ट समुदायमा पुगेकाले अबको एक महीना संक्रमण अझ बढ्ने जनस्वास्थ्य विज्ञहरुको चेतावनी दिएका छन् ।

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले १५ माघसम्म विद्यालय बन्द गरि १५ माघसम्म हिउँदे विदा दिन र अभिभावकहरुलाई आफ्ना छोराछोरी विद्यालय नपठाउन पनि अनुरोध गरेको छ । सीसीएमसीसीले गरेको उक्त निर्णयलाई कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयहरुमा सिफारिश गरिसकेको जनाएको छ । सीसीएमसीसीको निर्णयअनुसार पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरु भने रोकिने छैन । तर जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै डेज आधारको बसाइमा परीक्षा गर्नुपर्नेछ ।

त्यस्तै सीसीएमसीसीले सार्वजनिक स्थानहरुमा २५ जनाभन्दा बढी भेला हुन तथा सभा समारोह गर्न रोक लगाएको छ । साथै सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिका कार्यक्रमहरु नगर्न आह्वान गरेको छ ।

यसैगरी माघ ७ गतेदेखि सार्वजनिक स्थानहरुमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गरिएको छ । यो निर्णयअनुसार अब सार्वजनिक कार्यालय, होटल तथा रेष्टुरेन्ट, सिनेमा हल, रंगशालामा प्रवेश तथा आन्तरिक हवाई यात्राका लागि पनि खोपकार्ड देखाउनुपर्नेछ ।

सीसीएमसीसीको उक्त निर्णय तथा सिफारिसलाई नेपाल सरकारको मन्त्रि परिषदले भने विद्यालय वन्दको बारेमा औपचारिक निर्णय गरिसकेको छैन ।