नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

सिद्धिचरण नगरपालिकाका बालशिक्षा सहयोगी कार्यकर्ता आन्दोलनमा

ओखलढुङ्गान्युज पुष २२, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका बालशिक्षा सहयोगी कार्यकर्ताहरुले आज नगरपालिका कार्यालयमा धर्ना दिदै नगर प्रमुख मोहन कुमार श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नेपाल सरकारले घोषणा गरे अनुसारको महंगी भत्ता उपलब्ध गराउन माग गर्दै नगर प्रमुख श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।

बालशिक्षा सहयोगी कार्यकर्ताहरुको तर्फवाट बुझाईएको ध्यानाकर्षण पत्र बुझ्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले समस्यालाई नगरापालिकाको मात्रै हैन, संघिय सरकारको समेत ध्यानाकर्षण गराउन सुझाए । संघिय सरकारले घोषणा गरे अनुसारको बजेट नगरपालिकामा नआएको र नगरपालिकाको समेत आफ्नो छुट्टै श्रोत नभएकोले सरकारले घोषणा गरे अनुसारको तलब उपलब्ध नगराएको बताए । संघिय सरकारले बजेट नपठाए घोषणा अनुसारको बढ तलब भत्ता उपलब्ध गराउन नसकिने पनि नगर प्रमुख श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षको बजेट भाषणका क्रममा तत्कालीन अर्थमन्त्रीले बालशिक्षा सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको तलब भत्ता बढाउने घोषणा गरेको थियो । सरकारले बजेट भाषणमा घोषणा गरेपनि केही आर्थिक दायीत्व भने सम्बन्धित स्थानीय तहलाई दिएको थियो । तर ओखलढुङ्गा जिल्लाका केही स्थानीय तहले बाहेक अधिकांशले सरकारले घोषणा गरे अनुसारको तलब भत्ता वापतको रकम पाएका छैनन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा वालशिक्षा सहयोगी कार्यकर्ताको तलब भत्तामा बृद्धि गरेको जनाएको थियो । तर सिद्धिचरण नगरपालिकाले हालसम्म पनि बढेको तलब उपलब्ध गराएको छैन । बढ तलब उपलब्ध गराउन माग गर्दै बालशिक्षा सहयोगी कार्यकर्ताहरुले नगर प्रमुख मोहन कुमार श्रेष्ठको ध्यानाकर्षण गराएका हुन् ।