नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

केहिदिन मौसम बदली भै हिमपात हुनसक्ने, सचेत रहन महाशाखाको अनुरोध

 

फायल फोटो

ओखलढुङ्गान्युज । पुष २२, काठमाण्डौं । पश्चिमी वायुको प्रभावको कारण बुधबारदेखि नै देशभरको मौसम बदली भई विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ । कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विहानै देखि पानी परिरहेकोले यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । हिमपातका कारण यस क्षेत्रका नागरिकहरुको जनजिवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केहि स्थानमा पनि गएरातिदेखि नै पानी परिरहेको छ । मंगलबार रातिदेखि नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावको कारण बुधबारदेखि देशभरको  मौसम  बदली भई वर्षा र हिमपात भएको हो ।

यो क्रम आगामी आइतबारसम्म जारी रहने र त्यसपछि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार विहिबार र शुक्रबार देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने शनिवार विभिन्न स्थानमा भारी वर्षाको समेत संभावना रहेको छ । पानी पर्ने तथा हिमपातको सम्भावनासँगै चिसो बढ्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।