नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

अभियानमा ओखलढुङ्गामा थपिए ४ हजार ३५९ मतदाता, कुन पालिकामा कति ?

ओखलढुङ्गान्युज । पुष ९, ओखलढुङ्गा । गत मंशिर १८ देखि ओखलढुङ्गामा सञ्चालन भएको मतदाता नामावली संकलन अभियानमा जिल्ला भर ४ हजार ३ सय ५९ मतदाता थपिएका छन् । योसँगै अब ओखलढुङ्गामा कूल मतदाताको संख्या विहिबारसम्ममा १ लाख ११ हजार १ पुगेको छ ।

अभियान सञ्चालनको अबधिमा सबैभन्दा बढि सिद्धिचरण नगरपालिकाको समेत मतदाता नामावली संकलन केन्द्र रहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा ८ सय ९५ जनाले आफ्नो नाम दर्ता सहित फोटो खिचाएका छन् । त्यस्तै दोश्रो स्थानमा खिजिदेम्बा गाउँपालिकामा ८ सय २० जना मतदाता नामवलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

त्यसैगरि चिशंखुगढी गाउँपालिकामा २ सय ७४, मानेभञ्ज्यांग गाउँपालिकामा ५ सय १४, सुनकोशी गाउँपालिकामा ५ सय ८५, मोलुङ गाउँपालिकामा ४ सय ९२, चम्पादेवी गाउँपालिकामा ३ सय ८६ र लिखु गाउँपालिकामा ३ सय २७ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार यस अबधिमा जिल्ला निर्वाचन कार्यालयमा ४७ जना र ओखलढुङ्गा जिल्ला भन्दा बाहिरको जिल्लाबाट १९ जनाले मतादाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

यो माथिको तथ्यांक कूल मतदाताको संख्या भएपनि मतदाता नामावलीमा अरु थप ५ हजार भन्दा बढिले नाम दर्ता तथा फोटो खिचाएको पनि निर्वाचन कार्यालय प्रमुख न्यौपानेले बताए । न्यौपानेका अनुसार उनीहरुको भने १८ बर्ष उमेर नपुगेका कारण मतदाता नामवलीमा नाम अध्याबधिक गरिएको छैन ।

जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार गत पुष ५, २०७७ सम्म ओखलढुङ्गामा १ लाख ६ हजार ६ सय ४२ जना मतदाता रहेका थिए । त्यसमध्ये खिजिदेम्बा गाउँपालिकामा १० हजार ६ सय ४२, लिखु गाउँपालिकामा १२ हजार ४ सय ८९, चम्पादेवी गाउँपालिकामा १३ हजार ४ सय ८३, सुनकोशी गाउँपालिकामा १३ हजार ७ सय ७५ जना मतदाता रहेका थिए । त्यसैगरि मानेभञ्ज्याङ्ग गाउँपालिकामा १४ हजार ७६, मोलुङ गाउँपालिकामा १२ हजार १ सय ९४, चिशंखुगढी गाउँपालिकामा १० हजार ७ सय ५८ र सिद्धिचरण नगरपालिकामा १९ हजार २ सय २५ जना मतदाता रहेका थिए ।