नेपाली समय Loading...२०८२ बैशाख ९ मंगलवार

सिद्धिचरण नगरपालिकाले बाढ्यो ९० जनालाई सौर्य उर्जा

ओखलढुङ्गान्युज पुष , ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाले नगरपालिका क्षेत्र भित्रका ९० जना गरिब, दलित, विपन्न तथा एकल महिलाहरुलाई सौर्य उर्जा सेट वितरण गरेको छ । नगरपालिकाले विभिन्न चरणमा गरेर विहिबार सम्म ९० जनालाई सौर्य उर्जासेट वितरण गरेको हो ।

नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९को लक्षित वर्गको बजेटवाट सौर्य उर्जासँगको सहकार्यमा उक्त सौर्य उर्जासेट वितरण गरिएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले बताउनुभयो । गुरुङका अनुसार नगरपालिका क्षेत्र भएर पनि सबै वडाहरुमा हालसम्म पनि पूर्ण रुपमा विद्युतीकरण हुन सकेको छैन । विद्युतीकरण भएका वडाका कतिपय गरिब, दलित, एकल महिलाहरुले विभिन्न कारणले विद्युत घरमा जडान गर्न नसकेकोले अध्यारोमा नै बस्नु पर्ने बाध्यता छ । त्यसैले त्यस्ता नागरिकहरु अध्यारोमा बस्नु नपरोस् भनेर लक्षित बर्गको कार्यक्रमबाट सौर्य उर्जासेट वितरण गरिएको हो ।

नगरपालिकाका १२ वडाका विभिन्न टोलमा सौर्य उर्जासेट वितरण गरेपनि हालसम्म सम्बन्धित व्यक्तिका घरमा जडान भने हुनसकेको छैन । सामान बुझेर पनि उनीहरुले सौर्यसेटलाई घरमा कुनामा थन्क्याएर राखेका छन् । सौर्य उर्जासेट उपलब्ध गराउने कम्पनीका प्राबिधिकहरुले नै घरमा पुगेर जडान गर्ने सम्झौता भएकोले केहिदिन भित्र नै घरघरमा सौर्य बक्ति जडान गरिसकिने पनि उपप्रमुख गुरुङले बताउनुभयो ।

सिद्धिचरण नगरपालिकाले केहि समय अगाडी नगरपालिका क्षेत्रका गरिब, विपन्न, दलित तथा एकल महिलाहरुका लागि लक्षित बर्गको बजेट मार्फत विद्युतिय चुल्हो समेत वितरण गरेको थियो ।