नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

बुद्ध एयरको जहाज आपतकालीन अवतरण

ओखलढुङ्गान्युज । पुष १, काठमाण्डौं । जहाजमा यान्त्रिक गडबडी देखिएपछि बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ । उक्त जहाजले काठमाण्डौंका लागि भरतपुरवाट नै उडान भरेको थियो । उडान भरेको केहीबेरमै जहाजमा यान्त्रिक गडबडी देखिएपछि पुनः भरतपुरमै अवतरण गरेको हो।

आपतकालीन अबतरण गरिएको जहाजमा १८ जना यात्रु र चालक दलका सदस्य रहेका थिए । जहाज दिउसो १ बजेर १६ मिनेटमा आकाशमा उड्ने वित्तिकै जहाजमा प्राविधिक समस्या देखिएको जहाजका क्याप्टेनले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएका थिए । प्राधिकरणलाई जानकारी गराउनसाथ जहाजलाई आपतकालीन रुपमा भरतपुरमा नै अबतरण गराईएको नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकले जानकारी दिए ।

जहाज अवतरण हुनासाथ यात्रुहरु जहाजबाट बाहिर निस्केका थिए । जहाजका सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले जानकारी दिए । जहाजमा कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ । जसका कारण भरतपुर विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ।