नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ओखलढुङ्गामा मंशिर १७ देखी मतदाता नामावली संकलनको काम हुदै

ओखलढुङ्गान्युज मंशिर १४, ओखलढुङ्गा ओखलढुङ्गामा मंशिर १७ गते देखी मतदाता नामावली संकलनको कार्यक्रम हुने भएको छ । मंगलबा जिल्ला निर्वाचन कार्यलय ओखलढुङ्गामा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय प्रमुख प्रेम प्रसाद न्यौपानेले यस्तो जानकारी गराएका हुन् ।

यसभन्दा अगाडी जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा जारी रहेको मतदाता नामावली संकलन कार्य मंशिर १७ देखी जिल्लाका स्थानीय तहहरुमा समेत गर्न लागिएको हो । निर्वाचन कार्यालय प्रमुख न्यौपानेका अनुसार पहिलो चरणमा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सुनकोशी गाउँपालिका,मानेभञ्ज्याङ्ग गाउँपालिका र चिशंखुगढी गाँउपालिकामा मंशिर १७ देखी २६ गते सम्म अभियान सञ्चालन हुनेछ ।

त्यस्तै दोश्रो चरणमा जिल्लाको लिखु गाउँपालिका, चम्पादेवी गाउँपालिका र मोलुङ गाउँपालिकामा मतदाता नामावली संकलनको कार्य सञ्चालन गरिने निर्वाचन कार्यालय प्रमुख न्यौपानेले बताए । दोश्रो चरणको कार्यक्रम भने मंशिर २८ देखी पौष ८ गतेसम्म जारी रहनेछ । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा भने जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयवाट नियमित रुपमा मतदाता नामावली संकलनको कार्य हुनेछ ।

स्थानीय तहका जनप्रतिनिधीहरुले आग्रह गरेको भएपनि प्राबिधीक कारणले स्थानीय तहको वडा वडा सम्म मतदाता नामावली संकलनका टोली जाने छैन । प्रत्येक गाँउपालिकाका सबै वडाका नागरिकहरुले सम्बन्धित स्थानीय तहको पालिका मुकाममा नै गएर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ । कार्यालयको समय विहान १० बजेदेखी ४ बजे सम्मको भएपनि सेवाग्राहीको चापलाई मध्यनजर गर्दै मतदाता नामावली संकलनको काम विहानै देखी वेलुका अबेरसम्म पनि सञ्चालन हुनेछ । सेवाग्राहीको चाप नरहेमा भने मतदाता नामावली संकलनको काम दैनिक १० बजेदेखी ४ बजेसम्म गरिने न्यौपानेले बताए ।

यस अगाडी सम्बन्धित जिल्ला रस्थानीय तहहमा मात्र आफ्नो नामावली दर्ता गर्ने व्यबस्था गरिएकोमा यस पटक भने अर्का जिल्लाबाट समेत मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सकिनेछ । त्यसका लागि पनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा नै स्वयम् सक्कल नागरिकता लिएर उपस्थित हुनुपर्ने पनि निर्वाचन प्रमुख न्यौपानेले जानकारी दिए ।

अहिले नेपालमा १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् भने ओखलढुङ्गामा १ लाख ६ हजार ६ सय ४२ जना मतदाता रहेका छन् । मतदाता नामावली संकलनको यो अबधिमा करीब ५ हजार नयाँ मतदाता ओखलढुङ्गामा थपिने अनुमान गरिएको छ ।