नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

सुन्नेलाई मिठो, भोग्नेलाई तितो शब्द “प्रवास”

ओखलढुङ्गान्युज । कातिक २०७८ । एउटा आम प्रश्न, प्रवास ! के हो त आखिर प्रवास ? कस्तो हुन्छ त प्रवासी जीवन ? किन  प्रवासी हुन्छन् त मान्छेहरू ? को हुन त प्रवासी हुनेहरु ? कहाँ हो त प्रवास ? अनि के के हुन त मानिसहरू प्रवासी हुनुको मुख्य कारण र कारकतत्वहरु ? सुन्दै चित्त दुख्ने प्रश्नहरु !

दुखको साथ भन्नू पर्दा दसकौं देखिको राजनैतिक खिचातानी र मुलुकको दिगो बिकासको स्पष्ट निति अवधारणा नहुँदा अहिले हाम्रो देश नेपाल संसारमै न्यून प्रतिब्यक्ती आय भएको । अत्यन्तै निम्नस्तर गरिबीको रेखामुनि । अझ भनौ दक्षिणी एसिया कै दोस्रो गरिब मुलुकहरूमा गनिन पुगेको छ । कहिले शासन पद्धति ठिक नहुँदा, त कहिले शासक विवेकि र जनपक्षीय नहुँदा । सिङ्गो देश नै बेरोजगारी, चरम भ्रष्टाचार, अनियमितता, अराजकता, अस्थिर सरकार, अव्यवस्थित शासन पद्धति अझ एकै शब्दमा भन्ने हो भने निकम्मा नेतृत्व र लाचार सरकारी कामकाज र नीति निर्देशनको चंगुलमा फसि रहेको छ । दैनिक रुपमा देशका लाखौ होनहार उर्जाशिल युवाहरु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल हुँदै विभिन्न देशहरुमा कौडिको भाउमा आफुलाई बेच्न र बिक्न बाध्य भैरहेको छ।

सर्वबिदितै छ आफू जन्मे हुर्केको देश भन्दा भिन्न देशलाई बोलचालीको भाषामा बिदेश वा प्रवास भन्ने गरिन्छ । आफ्नो देश भन्दा भिन्न देशमा विभिन्न कारणले (हाम्रो देशको सवालमा प्राय जसो रोजगारीको शिलशिलामा) बसोबास गर्दै आएका नागरिकहरुलाई प्रवासी भनिन्छ । प्रवासमा मानिसहरु विभिन्न हेतुले जाने गर्छन । कतिले आफ्नो हेतुको सेतु पार गर्छन त कतिले यहि चक्करमा अकालमै आफ्नो प्राण हर्छन । अनि कसैले त सदाको लागि संसारबाट आफ्नो भौतिक उपस्थितिको अस्तित्व नै नामेट पार्छन ।

विडम्बना भनौ या बाध्यता हामी नेपालीहरुको प्रत्ये घरको दैनिकी यहि चक्रव्युहमा  माकुराको जालोमा अवला माहुरी फसेझैँ फसेको छ । फनफनी घुमिरहेको छ । हुन त कसैको यहि चक्रव्युहबाट यहिँ बसिबसी घर चलेको छ । घरै उज्यालो हुने गरि श्रीमतीका गरगहना बलेको छ । लाखौको हारहरु जडिएको छ । करोडौंको महलहरु ठडिएको छ । तर तिनीहरु लाई एउटा कुराको कहिल्यै वास्ता र चिन्ता हुन्न । जस्को कारण उनिहरुको महल ठडिएको छ उनिहरुको मन मस्तिष्कमा तिनिहरु प्रती कस्तो खाले सद्भाव गडिएको छ ?

यद्यपी जुनदिन एउटा सामान्य नागरिक वैदेशिक रोजगारीको लागि आफ्नो पासपोर्ट बनाउनको लागि घरबाट जिल्ला प्रशासन कार्यालय सम्म जाने निधो गर्छ, हो त्यही दिनबाट उक्त ब्यक्ति को मानसपटलमा प्रवास यात्राको बिजारोपण हुन्छ । अझ भनौ प्रवासको कहालीलाग्दो कहानिको एक  हिस्साको यात्राको थालनी हुन्छ । हुन पनि लेखकलाई समेत लेख्नै मन नलाग्ने गरि लेख्दा लेख्दै हातै फतक्क गल्ने गरि सुरुबाटै दुखका साथ सुरु हुने गर्दछ प्रवासिको यात्रा । अनि कष्टकर ब्यथा मिश्रति कथा ।

जब प्रशासन कार्यालयको आगनमा आफू बेचिन चाहिने प्रमाणपत्रमा मोहर हान्न (पासपोर्ट बनाउन) आफै लाइनमा बसेर । आफैले दायाँबायाँ औंठा छाप हानि म अब बेचिन तयार छु अथवा बेचिनलाई योग्य भएँ भनेर पुष्टि गर्न गइन्छ, तब कहालीलाग्दो कहानीको बिधिवत थालनी हुन्छ । उक्त प्रक्रिया कतिको सहजै पुष्टि हुन्छ त कतिलाई भने आफैं बेचिनको लागि योग्य छु भनेर पुष्ट्याउन समेत निकै कष्ट र हन्डर खेप्नुपरेको पाइन्छ । अझ त्यतिले नपुगेर प्रमाणित गर्ने निकाय वा ब्यक्तिलाई आफू बेचिनको लागि सिफारिस गरिदिनु हुन भनी भेटी (घुस) समेत चढाउनु पर्ने हुन्छ ।

अब यहाँनेर आफू योग्य भएको प्रमाणपत्र लिईसकेपछी अर्को स्तरको जाँचमा सामेल हुनको लागि हार्दिक अनुनय विनय सहित दश औला जोड्नुपर्छ । लौन हजुर म बिचेन तयार भैइसकेँ मलाई बेचिन सहयोग गरिदिनु पर्यो भनी बिचौलियाको निर्दयी अड्डामा दिनै दयालाई समेत दया लाग्ने गरि दयाको भिख माग्न धाउनु पर्छ । हजारौं कोसिसहरुको बाबजुद सरकारले तोकिएको सरकारी बेचिने दरभाउ भन्दा निकै मोटो रकम बुझाए पछी मात्रै बल्ल आफू बेचिन पाउने (प्रवासी हुन पाउने) पक्का पक्की हुन्छ ।

चोला बेचिन योग्य भएको प्रमाणपत्र लिए सँगै र बेचिन बिचौलिया लाई गाउँमा भएको एकसुर्को खेतबारी र आमाको बुलाकी र ढुङ्री बन्धकिमा राखेर सयकडा तीनले लिएको दाम चढाइ सकेपछी अब भने सुरुहुन्छ प्रवास । यात्रा गर्ने अन्तिम चरणमा आफुले आफैलाई बेचेर संसारमै लोप भैईसकेको तर बैधानिक नीति बनाई दास बन्ने÷बनाइने नौलो अनुभव लिन जानै लाग्दा गाउँको सानो छानो चुहिने घरको जस्केलो बाहिर उभिएर आमा र बाबाले हेर्दै हुनुनहुन्छ । छोराले परदेश नजान परे हुन्थ्यो भन्ने भाव सहित आमाको हातबाट निधारमा रातो टीका र बाबाको आफुले केही गर्न नसकेको पश्चाताप झल्किने निन्याउरो अनुहार गर्दैगर्नुहुन्छ । तैपनि छोराको गलामा एउटा शुभेच्छा अर्पित कपडा (खादा) लागाई सपरिवारलाई सकुशल छिटै भेट्ने बाचाका साथ प्राणप्यारी पृयसीको आँखामा समेत आँखा जुधाएर हेर्न नसकी नसकी हिड्नुपर्छ ।

ती स–साना बालबच्चाको कलिलो यादहरुको झझल्को द्वारा चसक्क शरीरमा कतै टिट्नासको सुइ हानेझैं मस्तिष्कमा तीखो अनुभुत गर्दै अनि आफू चढेर जानुपर्ने जहाजको वजन भन्दा पनि हजारौं गुणा गर्हौं मन । जहाज गुड्ने मैदान भन्दा पनि हजारौं क्षेत्रफल फराकिलो काल्पनिक सुखको सपना र आकाङ्क्षाहरु । भिन्न परिवेश, भिन्न रहनसहन, भिन्न भेष, भिन्न भाषा र भिन्न हावापानी भएको बिरानो ठाउँमा केही उमंग केही उत्सुकता र केही नैरास्यता । अनि यस्तै यस्तै असमजस्यहरुले भरिएको  कन्टेनर जस्तै एउटा सक्लो मानवरुपी लुब्धो शरीर लिएर हिड्नुपर्छ । मनमनै कलाकार भुपु पाण्डेले गितमा भने झैँ  छोटो छ जिन्दगी फोटो खिचेर राख,छिट्टै फर्की आउछु म मुटु थिचेर राख”भन्दै सुख पाउने कल्पनिय आशाका साथ भिमकाय विमान भित्र आफ्नै मुटु थिच्दै चढ्छन्, ती हुन प्रवासी ।

जब उनिहरु प्रवास पुग्छन । बिल्कुलै पृथक बाताबरण र जीवनशैली भएको अन्जान ठाउँ । त्यसैले होला सुरुमा त उनिहरुलाई त्यहाको रहनसहन र हावापानीसँग घुलमिल हुनै अत्यन्तै गार्हो हुने गर्दछ । जस्तो भाषा, व्यबहार, खानपिन र अन्य दैनिक कार्यहरु । कतिले आफुलाई बाध्यताको उपनाम दिँदै उक्त बाताबरणमा जबर्जस्ति ढाल्न सफल हुन्छन, र आफुलाई नोकरको दर्जामा स्थापित गराउन सम्भव बनाउछन ।

यसरी दैनिकी १२ घन्टाको काममा, ४५–५० डिग्रीको घाम । अनि खाए पनि नखाए झैँ लाग्ने बर्षौ फ्रीजमा राखेको नामको मात्रै खाना । खुल्ला आकाश मुनि पट्ट्यारलाग्दो एकान्त तातो बालुवा घारीमा । कोहि गगनचुम्बी महलहरुमा घरमा मुने (बाख्राको पाठा) बाँध्ने जस्तै सानो डोरीको भरमा झुन्डिएर निरन्तर यन्त्रमानव सरह काममा लागि पर्छन । अपेक्षित भन्दा धेरै गुणा न्युनस्तरको काम र दाममा आफुलाई आफैले सम्झाउदै “हेर केटा बिदेश यहि हो” भन्दै चित्त बुझाउछन ।

दुख त आफ्नो ठाउँमा थियो नै । प्रवासिहरु झन दुखी त त्यति बेला हुने गर्छन जतिबेला गाउँघरमा चाडबाड (दशै तिहार)ले झपक्कै छोपि चारैतिर मखमली र सयपत्री फुलहरुले धपक्क सजिएका हुन्छन् । सामाजिक सञ्जालमा आएका त्यही मनै कुँडिने खालका थरिथरि रंगिन फोटाहरु औलाले तलमाथी सार्दै मनले पिडा रियाक्ट   गर्न मन भए ता पनि औलाले जबर्जस्ति   रियाक्ट गर्नुपर्छ । अनि आफन्त र साथी सङ्गिहरुले पठाएका शुभकामनाका सन्देशहरु पढ्दै गहभरी आँसु पारी धन्यवाद, अनि तपाईलाई पनि शुभकामना है लेख्दै प्लास्टिकको थैलोमा खानाको पोका बोकेर निरन्तर बाह« घन्टाको ड्युटीमा जानू पर्ने हुन्छ ।

चाडपर्वको पीडा त बर्षमा एकपटक आइनै रहन्छ । तर आफ्नो परिवारको सुख र खुसिका लागि पर्देशिएका पर्देशीहरुको मनमा जुनि भर नमेटिने चोट त तब लाग्द छ जब आफ्नै परिवार आफैले माया गरेको मान्छे, आफुलाई भन्दा पनि धेरै बिश्वास गरिएकाहरु बाटै बिश्वासघात, तिरस्कार अनि तीखो वचन सँगै अकल्पनीय व्यबहार बेहोर्नु पर्छ ।

तसर्थ बाध्यताको अर्को नाम हो प्रवास भन्दा कुनै नौलो कुरा होला जस्तो कदापि लाग्दैन । यी र यस्तै कष्टहरु झेल्दै आफ्ना बिगतको आर्थिक हैसियत र ब्यबहारिक समस्याहरु जारी छन् । सम्पती कै कारण आफ्ना भनौदाहरुबाट खेप्नु परेको हेपासी व्यबहार उस्तै । आफ्नो सन्तानको लालनपालन सँगै आफ्नो परिवारलाई सुखले पाल्ने संकल्प सिद्ध गर्न प्रश्न चिन्ह अगाडी उभिरहेको छ । अनि त समाजमा आफुलाई एउटा ब्यक्तिको दर्जा प्राप्त गर्न पनि दिनरात नभनी अहोरात्र खट्नु को बिकल्प हुन्न त्यहाँ ।

यस्तै यस्तै परिस्थितिहरु सँग जुझ्दै केही बर्षपछि फर्काइको मेसो त बन्छ । तर विडम्बना फर्काई सबैको एकैनास भने कदापी हुँदैन । कति आफ्नै मालिकद्वारा अपमानजनक तरिकाले विभिन्न अपुष्ट आरोप सहित खाली खुट्टा फर्किन बाध्य हुन्छन । कतिपय सिमित संकल्प सिद्ध भएतापनि आधा गिलास पानी झैँ आफ्ना रंगिन सपनाहरु छचल्काउदै रत्तिभर पैसा र कामै नलाग्ने गरि थाकिसकेको थङ्थिलो निर्धो शरीर लिएर फर्किन्छन् । अझ कतिपयको नसिबमा त त्यो पनि जुर्न असम्भव प्रायः हुन्छ । ती मनभरि सजाएका रंगीन सपनाहरु र काल्पनिक सुनौलो सुखको अस्तुलाई त्यहिँ आँखाले नभ्याउने बालुवाको घारीमा कतै एक छेउमा सदाको लागि सेलाउछन ।

भौतिक रुपमा आफुलाई र आफ्नाको भविष्यको खुसिका लागि सजाएका सपना र चाहनाहरुलाई नै अन्तिमपल्ट लामो श्वास फेर्दै त्यहीँ समाप्त पार्छन । अनि एउटा सानो साँघुरो काठको बाकस भित्र बन्द भएर जहाजको सामान राख्ने कार्गो सेक्सनको कोठा भित्र एक्लै गुम्सिएर फर्किन बाध्य हुन्छन पर्देशी । सम्झँदा नै आँङ सिरिङ्ग हुने । तपाइलाई पनि त्यस्तै भयो होला है ! के गर्ने त खै ? झन ती आफैले जिवनमा भोग्नेहरुको के हालत होला ? सम्झँदै गहभरी आँसु हुने ।

त्यसैले एकपटक सबैले सोचौं । हरेक नागरिक सुध्रिनु पर्छ । निष्ठा र सद्भावको राजनैतिक बाताबरण बनाइनु पर्छ । कुण्ठा र बिरोधका लागि बिरोध गरिने संस्कार त्याग्नुपर्छ । मै खाऔं र मै लाऔंको भाव त्याग्नुपर्छ । नेता कर्मचारी शासक होइन इमानदार सेवक बन्नुपर्छ । हरेक आवाज बोल्नुपर्छ । हरेक बस्ती कुना कन्दरा जाग्नुपर्छ । नेता नेतृत्व लाई खबरदारी गर्नु पर्छ । आफ्ना भावी सन्ततिहरुलाई यो कहालीलाग्दो कहानी जस्तै लाग्ने तितो यथार्थ भोग्न दिनबाट बचाउनु पर्छ । आज जागेन भने आफू लागेन भने यो स्थिति सदियौसम्म निको नहुने दिर्घरोग झैँ रहि रहने छ । र तपाईं हामी इतिहासमा आफ्नै सन्ततीहरु द्वारा अपमानित कलंकित पत्रको रुपमा स्थापित हुन बाट कसैले रोक्न सक्ने छैन ।

# यहाँ प्रकाशित सबै शब्दहरु लेखकका निजी शब्द हुन् ।

 

 

तपाईका पनि कुनै लेख, रचना, संस्मरण, साहित्य छन् भने हामीलाईलाई सम्पर्क गर्न सक्नुहुन्छ । हामी प्रकाशन गर्नेर्छौं ।

सम्पर्कका लागि :   [email protected]