नेपाली समय Loading...२०८१ मंसिर ६ बिहीबार

युग, युवा, चेतना र चिन्ता

ओखलढुङ्गान्युज । असोज । युवाशक्ति देशको मेरुदण्ड हो । उर्जा अनि आलो रक्तसञ्चार हो । “युवा जागे देश जाग्छ, बस्ती बस्ती जुरुक्क उठ्छ” भन्ने कथन सोह«ै आना आफैमा मनासिब र जोसिलो त छ नै । र त सुन्नेलाई समेत आनन्द लाग्दछ । विश्वमा अहिलेसम्म जे जति पनि सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र भौतिक रूपमा बिकास, परिवर्तन र उपलब्धिहरु भएका छन्, ती सबैमा युवाहरूको विशेष भुमिका रहिआएको पाइन्छ । चाहे त्यो प्रत्यक्ष होस, या त परोक्ष । तर भुमिका रहिआएको तथ्यहरु भने प्रशस्तै मात्रामा पाइन्छ ।

त्यसैले त भन्ने गर्छ, देश युवाहरूको हो । तर हाम्रो देशको बिगतदेखि बर्तमान सम्ममा स्थापित भएका नजिरहरुलाई हेर्ने हो भने यो भनाई कहिँ कतैपनि अक्षरस लागु भएको भान हुँदैन । किनकि इतिहासकाल देखि हामीमा भएको र हामी आफैले नै देखाउदै आएको व्यबहारले त्यही नै पुष्टि गर्दै आएको छ । चाहे त्यो राजनैतिक क्षेत्रमा होस्, चाहे शैक्षिक क्षेत्रमा होस् वा सामाजिक, सांस्कृतिक जुनसुकै क्षेत्रमा होस् ।

यसो भन्दै गर्दा परिवर्तन हामी र हाम्रो देशमा पनि नभएको भने बिल्कुलै होइन । धेरै परिवर्तनहरु भए । अनेकौं आन्दोलन, बिद्रोह, क्रान्तीहरु भए । हजारौं बलिदानहरु भए । तर फेरि पनि युवाहरूमा भएको उहि अन्धभक्त, चाप्लुसी–चाकरी  आचरणका कारण समाजले पुर्ण रुपमा देखिने गरि (एकाध बाहेक) केहिपनि सफलता, उपलब्धि पाउन सकेन । फलस्वरूप आज पनि हामी अन्य देशहरुको तुलनामा ढुङ्गे युगमा नै छौ भन्दा खासै फरक नपर्ला । त्यसैले युवाहरुमा समयानुकूल देश र जनता प्रतिको उत्तरदायित्व सहितको चेतना, चरीत्र र चिन्ता हुन नितान्त आवश्यक छ । जो सकारात्मक र फलदायी होस् ।

माथी उल्लेख भए झैँ कोशिसहरु हुँदै नभएका बिल्कुलै होइनन् । समयको मागसँगै हामीले पनि अनेकौं परिवर्तनका खातिर चर्को नाराहरु लगायौं । ठुला ठुला पोस्टरहरु टाँग्यौँ । हजारौं इटाहरु फ्याँक्यौ । लाखौ मुट्ठीहरु उठायौँ । कैयौं दिन भोकै बस्यौं । हजारौं निलडामहरु निको पार्यौं । अनेकन लडाइँ, झडप, आन्दोलनहरुमा सरिक भयौं । तर फेरिपनि अन्त्यमा निश्चित स्वार्थ र केही गलत मनोवृत्तिका कारण उही पुरानै यथास्थितिवादी चिन्तन, व्यबहार र फन्दामा फसि रह्यौं ।

हामी युवाहरुले कहिल्यै पनि म को हुँ ? मैले जन्म लिएको समाज र मुलुकका लागि मैले के योगदान दिन सक्छु ? मेरो लक्ष्य र उदेश्य के हुनुपर्दछ ? र मेरो महत्त्व के ? भन्ने कुराको सामान्य अडकलबाजी समेत पनि गर्न सकेनौं । सक्यौ त केवल शक्तिकेन्द्रको स्तुतिगान गाउन र उसैको चाहना र कप्टी योजना अनुरुपको भर्याङ रुपि भरौटे, झोले बनिरहन । तर यो चिन्तन कहिल्यै भएन कि हामी युवाहरुको चेतना र दृढ संकल्पमा देशको दिगो बिकास र परिवर्तन सम्भव छ । युवा युवा एकजुट भए असम्भव प्रायः बिरलै छ ।

हामी युवामा त फगत सधैं यहि चिन्ता रह्यो कि मैले अरु भन्दा देखावटी नै भए पनि राम्रो कसरी देख्ने ? कसरी अरु भन्दा एक कदम अगाडि जाने ? कस्को बिरोध गर्दा कति फाइदा हुने ? र मैले कस्को पक्षपोषण गर्दा कुन स्थानको लाभपद प्राप्त गर्न सक्ने ? त्यसका लागि चाहे जस्तोसुकै निर्णय लिन किन नपरोस् । नकारात्मक र आत्मघाती त्यो किन नहोस् । देश अघोषित रुपमा विकृति र विसंगतिहरु भ्रस्टाचार, दण्डहीनता, प्रतिगमनकारी जालझेल, अतिवादी चिन्तन र निरंकुश स्वेच्छाचारी प्रवृत्ति आदि इत्यादिको स्थायी बन्दी भएको छ । सिमित ब्यक्तिहरुको निजि स्वार्थ, दम्भ र कुण्ठाले देश बर्बादिको बाटो तर्फ कमान बाट छुटेको तिर झै सोझिएको छ । यो कुराको चिन्तन युवाले कहिले गर्ने ? र वास्तविक चेतनाको बिर्को कहिले खुल्ने ?

हिजोदेखि अहिलेसम्म देखिएका कुनै पनि आन्दोलन, समर्थन, बिरोध वा कुनैपनि सार्वजनिक चासोको बिषयमा बिकास हुँदै गरेको संस्कार र त्यसबाट हुने उपलब्धि र क्षतिले के के कुरामा कस्ता कस्ता असर पारेका छन् ? भोलि त्यसले पार्ने असरको नतिजा के हुन सक्छ ? त्यसले ब्यक्ति, समाज र सिंगो मुलुकलाई कुन रुपमा परिवर्तन गराउछ ? सकारात्मक या नकारात्मक ? भनेर एकरति पनि चिन्ता गरेको पाइन्दैन । बरु समस्याको छलफल अन्तरक्रियाबाट उचित निस्कर्ष निकाल्नुको सट्टा आफुलाई युवा भन्ने ठाउँ समेत राख्दैनन् । अन्दाज र अरेको भरमा, कसैले कान फुकेकै भरमा, अझ भनौ बिर्तामा पाएको पार्टीको भक्ती गाउदै ब्यबहारिक, बैचारिक र सैधान्तिक पाटोलाई एकपटक पनि बुझ्ने कोसिस गरेको पाईन्न । गलत प्रवृत्तिको जिलोज्यान दिएर समर्थन गर्ने गरेको पाइन्छ । जुन ब्यक्ति समाज, अन्ततः राष्ट्रको निम्ति नै अत्यन्तै दुखदायी र दुर्भाग्यपुर्ण छ । अन्ततः जब आफ्नो जिन्दावाद र मुर्दावाद जस्ता मृदुवाणी लिन कण्ठले अस्वीकार गर्न थाल्दछ । एउटा इँटा दुई हात पर फाल्न नसक्ने भएको हुन्छ । तब हेर्दै दया लाग्ने गरि दुखद दैनिकी जिउन बाध्य बन्दछ ।

उठौं अब चिन्तन, मनन र छलफल गरौ । बस्तुगत तथ्यलाई प्रमाणको रुपमा अगाडि सारौं । अन्तरद्वन्द्वलाई समुल पारौ । हातमा हात मिलाउ । पार्टी, पद र सिमित स्वार्थ भन्दा माथी उठौं, जुटौ र जागौ । आजैबाट, आफैं बाट सुरु गरौं । भोलिको दिन सुनौलो नेपाल र समृद्ध नेपाल भएर विश्व सामु अवस्य उदाउने छ । भावी सन्ततिले तिम्रो नाममा सलामी चढाउने छन । एउटा नयाँ इतिहास रच्नेछ । युवा जागरण युग भनि युगको नामाङ्कन हुनेछ।

यसर्थ हरेक युवाहरुले बास्तबिक चिज वस्तुको गहिरो अध्ययन गरि सोहि अनुरुप राष्ट्रिय हितको निमित्त दत्तचित्त भैई लागिपर्नु पर्दछ । हरेक युवाको मन मस्तिष्कमा एउटै (साझा) कुराको चिन्ता हुनुपर्दछ । जुन ब्यक्ति समाज र राष्ट्रको सुनौलो भविष्य होस् । तब मात्र हामी हाम्रो देशको भविष्य बनाउन सक्छौ र छाती फुलाएर भन्न सक्छौ हामी स्वाभिमानि, हामी गोर्खाली, हामी नेपाली ।

© रामजी,

चिगापा ७ सोलाघर,

अस्थायी बसोबास सिनपा ५ वर्णालु ओखलढुंगा