नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

साफ च्याम्पियनसिप ः नेपालको लगातार दोस्रो जित, भारत र बंगलादेशले अंक बाडे

ओखलढुङ्गान्युज । असोज १९, काठमाण्डौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

श्रीलंकासँग भएको खेलमा नेपालको जितका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरेका थिए । त्यस्तै श्रीलंकाका लागि मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काएका थिए । यस जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जितपछि नेपालले २ खेलमा ६ अंक जोडेको छ । लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० ले हराएको थियो । अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

त्यस्तै शोमबार नै भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । भारतले शुरुवाती अग्रता लिएपनि १० खेलाडीमा समेटिएको बंगलादेशले बराबरी गोल फर्काउँदै अंक बाँडेको हो । पहिलो खेलमा श्रीलंकालाई हराएको बंगलादेशले २ खेलबाट ४ अंक जोडेको छ । भारतले भने बराबरीबाट प्रतियोगिता शुरुवात गर्दै एक अंक जोडेको छ ।