नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

ओखलढुङ्गामा पनि भेटिए डेंगु रोगका संक्रमित

ओखलढुङ्गान्युज । असोज ११, ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक डेंगु रोगका संक्रमित भेटिएका छन् । जिल्लाका मोलुङ गाउँपालिका वडा नं। ७ पात्लेको जेसे माद्यमिक विद्यालय पात्लेका विज्ञान विषय अध्यापन गराउने शिक्षकमा डेंगुको संक्रमण पुष्टि भएको हो ।

केहि दिन देखि अस्वस्थ्य भएका शिक्षक घमन सिंह थामीलाई शनिवार उच्च ज्वरोसँगै शारिरीक समस्या भएपछि कोभिड संक्रमण हुन सक्ने आशंकमा शनिवार बेलुका नै सामुदायीक अस्पताल सोब्रु ल्याईएको थियो । तर सामुदायीक अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा उनमा डेंगु संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

गर्मीको समयमा तराई क्षेत्रमा देखिने डेंगुका संक्रमित ओखलढुङ्गामा देखिनुलाई आश्चर्यको रुपमा हेरिएको छ । जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं। ४ स्थायी घर भएका शिक्षक थामी गत माघमा ओखलढुङ्गा आएर घर गएका छैनन् । तथापी उनमा डेंगुको संक्रमण देखिएको हो ।

के हो डेंगु ?

डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो ।  यो डेंगु भाईरस ९डिइएन भी० ले हुने रोग हो । यो रोग एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । एडिस नामक लामखुट्टे साँझ र बिहानको समयमा धेरै सक्रिय हुने गर्छ । सङ्क्रमित लामखुट्टले टोकेपछि मात्र यो रोग मानिसमा सर्ने गर्दछ । जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु भाइरस चार प्रजाति हुन्छन् । जसलाई डिइएन भी–१, डिइएन भी–२, डिइएन भी–३, डिइएन भी–४ नाम दिईएको छ ।

एक पटक एक प्रकारको डेंगु भाईरसको संक्रमण भएपछि जीवनभर त्यही प्रकारको डेंगु रोग नलाग्ने डाक्टरहरुको भनाई छ । तर अन्य प्रजातिको डेंगू रोग लाग्न सक्छ ।  प्रायः दोस्रो पटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ । कुनै व्यक्तिलाई डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि धेरै जसो ४ देखि ७ दिन भित्रमा रोगको लक्षण देखिन्छ । एउटा डेंगु रोगबाट सङ्क्रमित व्यक्तिको रगत चुसेको ८ देखि १२ दिनपछि लामखुट्टे पनि संक्रमित हुन्छ र त्यो जीवन भर सङ्क्रमित रहन्छ ।

डेंगु सङ्क्रमण भएको लक्षण के के हुन् ?

कुनै पनि व्यक्ति डेंगु सङ्क्रमित भएको एक हप्तामा विभिन्न किसिमका लक्षणहरु देखा पर्न थाल्छन् । डेंगु संक्रमितमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, मासुहरु कर्रकरी लुछ्ने, ढाड दुख्ने, जोर्नी दुख्ने, छालामा रातो रातो दागहरु देखा पर्ने जस्ता लक्षणहरु देखिन्छन् । तर कतिपय मानिस संक्रमित भएर पनि उनीहरुमा डेंगुको कुनै पनि लक्षण नदेखिने समेत हुन्छ । डेंगु भएका कतिपय मानिसलाई फ्लू जस्ता लक्षण देखापर्न सक्छन् भने कतिलाई डेंगु ज्वरो देखिन्छ।

त्यसैगरी एकदमै कम व्यक्तिहरुमा मात्र डेंगुका कारणले हुने जटिलताहरु देखिने हुन्छ । जटिलता भएको खण्डमा मानिसको रक्त नलीबाट प्लाजमा बहिर निस्किने गर्छ । जसले गर्दा फोक्सो, पेटमा पानी जम्ने, पेट दुख्ने, बान्ता हुने, नाक, आँखा मुखबाट रक्तश्रव हुने, उठ्न नसक्ने, कलेजो सुन्निने जस्ता लक्षणहरु देखिन थाल्छन् ।

बिरामीको रक्त संचालन नभएर ब्लड प्रेसर कम भएका कारणले स्वास्थ्यमा समस्या देखिन सक्छ । त्यसकै कारण मृगौला, कलेजो, दिमाग जस्ता अंगले काम गर्न छोड्न सक्छन् । यति मात्र नभएर कहिले काहीँ रक्तश्राव हुने समस्याहरु देखिने गर्छन् । धेरै मानिसलाई सामान्य डेंगु ज्वरो मात्रै आउने गर्छ भने केही व्यक्तिहरुलाई यसका कारण जटिलता हुने गर्छ ।