नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

यसपालीको दशैको टिकाको साईत सार्वजनिक

ओखलढुङ्गान्युज । असोज ८, काठमाण्डौं । यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको टिका लगायत विभिन्न साइतहरुको शुक्रबार सार्वजनिक गरेको हो ।

शुक्रबार सार्वजनिक गरेको दशैंको साइत अनुसार असोज २१ गते बिहीबार बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत रहेको छ । असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ बजेर ५६ मिनेटमा रहेको छ । त्यस्तै असोज २५ गते सोमबार पचली भैरव यात्रा, असोज २६ गते मङ्गलबार फूलपाती परेको छ ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ । त्यस्तै असोज २७ गते बुधबार महाअष्टमी र त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने पञ्चाङ्ग समितिले जनाएको छ ।

त्यसैगरि पञ्चाङ्ग समितिका अनुसार असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई २९ गते बिहान ८ बजेर १९ मिनेटमा विसर्जन गरिने साइत छ । विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि भने बिहान १० बजेर २ मिनेटको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।