नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गाका बजार अनुगमन, अखाद्य बस्तु जफत

ओखलढुङ्गान्युज भदौ २०, ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको नेतृत्वमा आईतवार जिल्लाका जिविस टोलका होटल तथा पसलहरुको अनुगमन गरिएको छ । अनुगमनका क्रममा केही होटल तथा पसलहरुबाट म्याद गुज्रिएका सामाग्रीहरुलाई जफत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार मण्डल नेतृत्वको अनुगमन टोलीले जफत गरिएका अखाद्य वस्तुहरुलाई नष्ट गर्न वा फिर्ता पठाउन सम्बन्धित व्यापारीलाई नै जिम्मा लगाएको छ । अनुगमनका क्रममा बजारमा म्याद गुज्रीएका पेय पद्धार्थहरु, चिजवल, प्याकेटको दुध फेला परेको थियो । नियन्त्रणमा लिएका अखाद्य तथा म्याद गुज्रिएका सामाग्रीहरुलाई नष्ट गर्न वा सम्बन्धित कम्पनीलाई तत्काल फिर्ता पठाउन निर्देशन दिएको छ ।

त्यस्तै अनुमनका क्रममा एप्पल ब्राण्डका ५ बोरा सडेको चामललाई समेत नियन्त्रणमा लिएको छ । उपभोक्ताको गुनासोका आधारमा चामल अखाद्य हो कि हैन भनेर परीक्षणका लागि नमूना समेत लिएको छ । नमूनाका लागि लिएको चामललाई खाद्य तथा गुणस्तर मापन केन्द्रमा पठाउने अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए । परीक्षणको रिपोर्ट नआएसम्म उक्त चामलको बोरालाई सुरक्षित राख्न भनेको पनि सहायक प्रमुख जिल्ला अधिकारी मण्डलले बताए ।

अनुगमनको क्रममा अधिकांश होटल तथा पसलहरुमा मूल्यसूचि राखेको नपाईएको अनुगमन समितिले जनाएको छ । त्यस्तै कतिपय होटल तथा पसलहरु दर्ताविना नै सञ्चालनमा रहेको, स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरी सञ्चालन भएको पाईएको थियो । सम्बन्धीत व्यापारीहरुलाई एकहप्ता भित्र नै होटल पसल दर्ता गर्न, होटल पसलको साईनवोर्ड राख्न, मूल्य सूचि टाँस गर्न निदेशन दिएको तथा होटलहरुमा स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्न समेत निर्देशन दिईएको सहायक प्रजिअ मण्डलले बताए ।

जिल्ला सदरमुकाम क्षेत्रका विभिन्न बजारहरुमा पछिल्लो समय जिल्ला प्रशासन कार्यलयले अनुगमनलाई तिब्रता दिएको छ । अनुगमन पछि तत्काल कार्बाही गर्ने भन्दा पनि कोरोना महामारीका कारण थलिएको बजार भर्खर खुल्न लागेकोले सचेत गराउने उद्धेश्यले अनुगमन गरिएको प्रशासनले जनाएको छ । अनुमगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग समितिको कार्यालय, जिल्ला उद्योग बाणिज्य संघ, जिल्लाका सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।