नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

ओखलढुङ्गामा निषेधाज्ञा १५ दिन थप, के के खुल्ने ?

ओखलढुङ्गान्युज भदौ १३, ओखलढुङ्गा कोभिड संक्रमण महामारीको त्रासलाई लिएर जिल्लामा भैरहेको निषेधाज्ञा पन्ध्र दिन थप भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले शनिवार साँझ एक सूचना जारी गर्दै जिल्लामा लागू भैरहेको निषेधाज्ञाको अबधी १५ दिन अर्थात भदौ २७ गतेसम्म थप गर्ने जनाएको छ ।

कोरोना संक्रमणको महामारीलाई फैलनवाट रोक्ने उद्देश्यले यस अगाडी ओखलढुङ्गामा लागू गरिएको निषेधाज्ञाको समय शनिवार राती १२ बजेवाट सकिएको थियो । यस अगाडी जारी गरिएको निषेधाज्ञाको सूचना अनुसार अरु कुराहरुलाई यथावत राख्दै यातायातलाई भने सहजता बनाउदै निषेधाज्ञाको अबधी थप गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका अनुसार सबै प्रकारका भेला, सम्मेलन, जुलुस, जात्रा, महोत्सव तथा मानिस भिडभाड हुने स्थान सञ्चालन गर्न र कार्यक्रम गर्न पूर्णतया प्रतिबन्ध लगाईएको छ । त्यस्तै तालिम, गोष्ठि, बैठक, समिक्षा, प्रशिक्षण तथा मानिसको भौतिक उपस्थितीमा गरिने कार्यक्रममा २५ जना भन्दा बढि सहभागी भएर गर्न प्रतिबन्ध गरिएको छ । शैक्षिक संस्थाहरुमा पनि भौतिक उपस्थितीमा पठनपाठन गर्न गराउन प्रतिबन्ध गरिएको छ ।

प्रशासनको जारी सूचना अनुसार सबै प्रकारका सवारी साधनहरु भने सञ्चालन गर्न खुला गरिएको छ । तर सवारी साधन चलाउदा सिट क्षमता भन्दा बढि यात्रु नराख्न, सबै यात्रुले मास्कको प्रयोग गर्न, चालक सहचालकले सुरक्षा सामाग्री प्रयोग गर्न, सवारी साधनको ढोकामा सेनिटाईजरको व्यबस्था गर्न तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनिवार्य गरेको छ ।

त्यस्तै लामोदूरीका सवारी साधनमा यात्रा गर्दा यात्रु टिकट अनिवार्य प्रयोग गर्न समेत उक्त सूचना मार्फत जानकारी गराएको छ । सञ्चालन गर्न प्रतिबन्ध गरिएको व्यापार व्यबसाय बाहेक अन्य बजार, पसल व्यबसायहरु भने विहान ६ बजेदेखी बेलुकी ६ बजेसम्म सञ्चालन गर्न पाईने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।