अन्तराष्ट्रिय मानववादी पुरस्कार नेपाललाई
ओखलढुङ्गान्युज । साउन ३१, काठमाण्डौं । मानववादी महासंघ बेलायतले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गरेको छ । शनिवार आयोजित महासंघको विश्व भेलाले यस बर्षको मानववाद सेवा पुरस्कार नेपाललाई प्रदान गर्ने घोषणा गरेको हो ।
कोरोना महामारीका कारण यस बर्षको विश्व भेला अनलाईनबाट आयोजना गरिएको थियो । उक्त भेला यसबर्ष नेपालको काठमाण्डौमा आयोजना गर्ने तय भएको भएपनि कोरोना महामारीका कारण काठमाण्डौंमा हुने कार्यक्रम स्थगन भएको थियो ।
शनिबार आयोजित अनलाईन भेलामा विश्वभरका मानववादीहरुलाई संबोधन गर्दै अन्तराष्ट्रिय मानववादी महासंघका अध्यक्ष एन्ड्रयु कप्सनले सोच नेपालकी पूर्व अध्यक्ष शान्ती गुरुङलाई यस बर्षको मानववाद सेवा पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको हो । गुरुङले लामो समयसम्म मानववादी अभियानमा सहयोग गरे वापत मानववाद सेवा पुरस्कार प्रदान गर्नु भएको हो ।
मानववादी महासंघले पहिलो पटक नेपालीलाई पुरस्कार प्रदान गरेको हो । उक्त कार्यक्रममा नाईजेरियाका मानववादी अभियन्ता मुबारक बालालाई पनि मानववादी पुरस्कार प्रदान गरिएको छ । मुबारक बाला विगत करिब २ बर्षदेखि वाक स्वतन्त्रता प्रयोग गरेको अभियोगमा जेलमा छन् ।
पुरस्कार ग्रहण गरेपछि कार्यक्रममा सम्बोधन गर्दै शान्ती गुरुङले आफुले पाएको यो पुरस्कार सम्पुर्ण नेपाली मानववादीहरुप्रति समर्पित गर्नुभयो । गुरुङले मानववादी अभियानमा लागेका सम्पुर्ण विश्व मानववादी समाजलाई धन्यवाद समेत दिनुभयो । गुरुङले विश्व मानववादी महासंघको नेपाल सदस्य सोच नेपालको अध्यक्षका रुपमा दुई कार्यकाल बिताउनु भएको छ ।
विश्व मानववादी महासंघ मानववादी बारे अभियान गर्ने विश्वको एउटै छाता संगठन हो । महासंघमा विश्वका ६३ देशका संस्थाहरु सदस्य छन् । ति संस्थाहरुमा करिब १७ लाख सदस्यहरु आबद्ध छन् । उक्त महासंघ संयुक्त राष्ट्रसंघमा नागरिक सँस्थाका तर्फबाट सक्रिय भुमिका निर्वाह गर्दछ । सो महासंघको वर्तमान विश्व समितिमा नेपालका उत्तम निरौला समेत गरि ९ देशका सदस्यहरु चुनाव मार्फत छानिएका छन् ।