नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा कोभिड संक्रमित एक बृद्ध महिलाको मृत्यु

ओखलढुङ्गान्युज साउन १३, ओखलढुङ्गा ओखलढुङ्गामा कोरोना संक्रमित एक बृद्ध महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. १२ का ८० वर्षिया एक बृद्ध महिलाको कोरोना संक्रमणका कारण मंगलबार विहान मृत्यु भएको हो ।

कोरोना संक्रमित महिलाको मृत्यु भएको बारेमा जिल्लाका कुनै पनि अस्पताल तथा  सरकारी निकायले भने पुष्टि गरेको छैन । कोरोना संक्रमित महिलाको मृत्यु भएको बारेमा बाहिर हल्ला आएपनि आधिकारीक रुपमा कसैले पनि आफूलाई जानकारी नगराएको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए । तिवारीले भने, ‘बाहिरी हल्ला त मैले पनि सुनेको हो । तर आधिकारीक रुपमा केही जानकारी आएको छैन । त्यसैले मैले केही भन्न मिल्दैन ।’

कोरोना संक्रमित महिलाको मृत्युका बारेमा सामुदायीक अस्पतालले पनि आफूलाई केही जानकारी नभएको र अस्पतालमा कोही संक्रमितको मृत्यु नभएको जनाएको छ । महिलाको मृत्युको बारेमा सामुदायीक अस्पतालका निर्देशक युवराज आचार्यले पनि अस्पतालमा कुनै संक्रमितको मृत्यु नभएको बताए । निर्देशक आचार्यले भने, ‘अस्पतालमा कोही संक्रमितको मृत्यु चाहि भएको छैन । तर सिनपा ११ का ८० वर्षिया एक महिलाको मृत्यु भएको सुनेको छु । उनी कोरोना संक्रमित थिईन । दुईपटक कोभिड वार्डमा राखेर उपचार पनि गरेका हौं । उनीमा अरु कुनै समस्या नदेखिएपनि स्वासप्रश्वासमा समस्या थियो । परिवारका सदस्यहरुले जवरजस्ती गरेपछि हामीले शोमबार नै अस्पतालबाट पठाईदिएका हौं ।’

मंगलबार विहान मृत्यु भएकी कोरोना संक्रमित महिलाको मृत्युको बारेमा बुधबारसम्म सम्बन्धित निकायवाट आधिकारीक पुष्टि नहुनु होम आईशोलेसनमा रहेका संक्रमितसँग स्वास्थ्य संस्था र सम्बन्धित स्थानीय तहको सम्पर्क कस्तो छ भनेर प्रष्ट हुन्छ । संक्रमित भएर अस्पतालको आईशोलेसनमा राखी उपचार गराईरहेका विरामीलाई परिवारको दवावमा घर पठाईदा अरुमा संक्रमण फैलन सक्छ भन्नेबारेमा सम्बन्धित निकायले खासै वास्ता गरेको देखिन्न । त्यसैले पनि गाउँगाउँमा अझ तिब्र गतिमा कोरोना संक्रमण फैलिरहेको स्थानीयहरुले आरोप लगाउने गरेका छन् ।

यस अगाडी पनि कोरोना संक्रमित सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुकी एक महिलाको मृत्यु भयो । तर उनको मृत्युमा पनि सम्बन्धित निकायले कोरोना संक्रमित महिलाको मृत्यु भनेर आधिकारीक रुपमा पुष्टि गरेन ।