नेपाली समय Loading...२०८२ असार १७ मंगलवार

सामुदायीक अस्पताल सोब्रुलाई सिद्धिचरण नगरपालिकाको भेन्टिलेटर सहयोग

ओखलढुङ्गान्युज साउन ११, ओखलढुङ्गा जिल्लाको सामुदायीक अस्पताल सोब्रुलाई सिद्धिचरण नगरपालिका ओखलढुङ्गाले शोमबार एक कार्यक्रमका बिच भेन्टिलेटर सहयोग गरेको छ । सामुदायीक अस्पतालमा रहेको एकमात्र भेन्टिलेटर विग्रिएर कोभिड महामारीमा समेत प्रयोगमा नआएको वेला नगरपालिकाले एकथान भेन्टिलेटर उपलब्ध गराएको हो ।

सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले सामुदायीक अस्पतालका निर्देशक युवराज आचार्यलाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले भेन्टिलेटरको अभावमा विरामीहरुले अकालमा ज्यान गुमाउनुपर्ने अबस्थालाई कम गर्न नगरपालिकाले सामुदायीक अस्पताललाई भेन्टिलेटर उपलब्ध गराएको बताउनुभयो ।

भेन्टिलेटर हस्तान्तरण पश्चात गम्भिर रोगका विरामी, विषालु सर्पहरुले टोकेका विरामी तथा कोभिड संक्रमणका कारण गम्भिर अबस्थाका विरामीलाई सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । सिद्धिचरण नगरपालिकाले आफ्नो सार्वजनिक खरिद ऐन अन्तर्गत सामान खरिद गरेर १९ लाख ५३ हजारको लागतको भेन्टिलेटर उपलब्ध गराएको समेत बताउनुभयो । नगरप्रमुख श्रेष्ठले उज्यालो नेपाल मार्फत उपलब्ध भएको २ सय थान एन्टिजेन किट पनि अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

भेन्टिलेटर उपलब्ध गराउनुभएकोमा नगर प्रमुख श्रेष्ठ र सिद्धिचरण नगरपालिका परिवारप्रति सामुदायीक अस्पतालको तर्फवाट अस्पतालका निर्देशक युवराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कोरोना भाईरसका संक्रमित विरामीहरुलाई लक्षित गरेर भेन्टिलेटर उपलब्ध गराएको भएपनि अन्यरोगका गम्भिर विरामीलाई समेत भेन्टिलेटरमा राखी उपचार सेवा प्रदान गर्न सकिने आचार्यको भनाई छ । भेन्टिलेटर उपलब्ध भएसँगै अस्पतालको उपचार सेवामा थप प्रभावकारी आउने निर्देशक आचार्यको भनाई छ ।

ओखलढुङ्गा, सोलुखुम्बु तथा खोटाङ जिल्लाका विभिन्न क्षेत्रवाट उपचारका लागि नागरिकहरु सामुदायीक अस्पताल सोब्रुमा आउने गरेका छन् । सामुदायीक अस्पतालले एकैपटक १ सय भन्दा बढीको संख्यामा विरामीको उपचार गर्नसक्ने गरी बेड तयार गरी उपचार गरीरहेको भएपनि नेपाल सरकारले भने ५० बेडलाई मात्र स्वीकृत दिएको छ ।

शोमबार नै जिल्ला सदरमुकाममा रहेको जनहित गुठीको तर्फवाट पनि सामुदायीक अस्पताललाई दुईथान व्हिलचेयर उपलब्ध गराईएको छ । व्हिल चेयरलाई जनहित गुठीका अध्यक्ष ध्रुब कुमार राजभण्डारीले अस्पतालका निर्देशक आचार्यलाई हस्तान्तरण गर्नुभएको हो । सामान हस्तान्तरण कार्यक्रममा नगरप्रमुख श्रेष्ठसँगै सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठ, जनहित गुठीका अध्यक्ष ध्रुब कुमार राजभण्डारी तथा गुठीका अन्य सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।

सामुदायीक अस्पतालमा आउने कोभिड संक्रमित विरामी र उनीहरुको उपचारलाई लक्षित गरी विदेशमा रहनु भएका २१ राष्ट्रमा रहेका नेपालीहरुको सहयोगमा नेतृत्व गर्दै शिवजी श्रेष्ठको पहलमा सामुदायीक अस्पताललाई अक्सिजन सिलिण्डर सहितको ५ थान आईसीयू बेड हस्तान्तरण भैसकेको छ । त्यस्तै ओखलढुङ्गा सेवा समाज काठमाण्डौंले पनि सामुदायीक अस्पताललाई ५ थान आईसीयू बेड उपलब्ध गराएको छ ।