नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

सवारी साधनले बढि भाडा लिए कार्बाही गर्ने प्रनाउ काफ्लेको चेतावनी

ओखलढुङ्गान्युज । साउन ८, ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लाका यातायात व्यबसायीहरुसँग विहिबार छलफल कार्यक्रम सञ्चालन गरेको छ । जिल्लावाट सञ्चालन हुने सवारी साधनहरुले यात्रुहरुसँग चर्को भाडा असुल गरीरहेको भन्ने नागरिकहरुको गुनासोका बारेमा प्रहरीले विहिबार पत्रकार तथा यातायात व्यावसायीहरुसँग छलफल गरेको हो ।

छलफल कार्यक्रममा प्रहरीले महामारीको त्रासमा नागरिकहरुलाई अप्ठ्यारो परिरहेको बेलामा मनोमानी भाडा असुल नगर्न यातायात ब्याबसायीहरुको ध्यानाकर्षण गराएको छ । माहामारी त्रासको कारण सबै सार्वजनिक सवारी साधन नचलिरहेको बेला अबसर ठानेर सवारी साधनहरुले नागरिकहरुलाई मार पर्नेगरी भाडा नलिन र सरकारले तोकेको न्यूनतम भाडादर भन्दा बढि भाडा असुल नगर्न व्यबसायीहरुलाई सचेत गराएको हो ।

छलफलमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले सवारी साधनहरुले यात्रुसँग चर्को भाडा लिएको भन्ने नागरिकको गुनासो आएकोले अनुसन्धानका क्रममा केही सवारी साधनहरुलाई नियन्त्रणमा लिई यात्रुहरुको बढि भाडा फिर्ता गरेको समेत बताउनुभयो । यातायातका साधन सञ्चालनमा थप सहजहुँदा समेत यात्रुहरु ठगीमा परीरहेको भन्ने गुनासो आएकोले ब्याबसायीहरुलाई सचेत गराउन छलफल आयोजना गरिएको प्रहरी नायव उपरीक्षक काफ्लेले बताउनुभयो । सचेत गराउदा गराउदै पनि बढि भाडा लिएको पाईएमा कानून अनुसार कडा कार्बाही गर्ने प्रहरी नायव उपरीक्षक काफ्लेले चेतावनी दिनुभयो ।

छलफलका क्रममा यातायात ब्यवसायीहरुले कोरोना संक्रमण त्रासका कारण बन्द रहेको यातायात काउन्टर सञ्चालन गर्नुपर्ने माग गरे । काउण्टर भन्दा बाहिर रहि आफुखुशी सञ्चालन भएका सवारीसाधनले यात्रुहरुसँग बढि भाडा लिने गरेको आफूहरुले पनि जानकारी पाएको उनीहरुले बताए । यसलाई नियन्त्रणका लागी समेत यातायात काउन्टर सञ्चालन गर्न दिनुपर्ने र सिट क्षमता अनुसार यात्रु बोक्न पाउनुपर्ने उनीहरुले माग गरे ।

पछिल्लो पटक नेपाल सरकारले बढाएको भाडादर अनुसार ओखलढुङ्गाबाट काठमाण्डौंसम्मको यात्रामा २८ प्रतिशत थपिदाँ १ हजार ४ सय हाराहारी हुन आँउछ । तर यातायात ब्यवासायीले प्रतियात्रु ३५ सयसम्म भाडा लिने गरेका छन् । काउण्टर सञ्चालनको बारेमा चाडै बस्ने जिल्ला कोभिड १९ संकट ब्यबस्थान केन्द्रको बैठकले निर्णय गर्ने भन्दै अब सरकारले निर्धारण गरको भडादर भन्दा बढी भाडा नलिन प्रहरीले यातायात ब्यवसायीको ध्यनाकर्षण गराएको छ ।

यातायात व्याबसायीहरुले यात्रुहरुसँग चर्को भाडा लिएको गुनासोको बारेमा केही दिन अगाडी मात्रै नागरिक समाज र पत्रकारहरुको साझा सञ्जाल जिल्ला पैरवी सञ्जाल ओखलढुङ्गाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो ।