नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

आजवाट युरोकप २०२० को क्वाटरफाइनल खेलहरु

ओखलढुङ्गान्युज । असार १८, काठमाण्डौं । आजवाट युरोकप २०२० को क्वाटरफाइनल खेलहरु सुरु हुने भएका छन् । क्वाटरफाईनल खेल सुरुहुनु दुईदिन अगाडी मात्रै अन्तिम १६ को खेल सकिएका थिए । क्वाटरफाईनल खेल सुरुवात हुने पहिलोदिन दुई खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

त्यस्तै स्पेन भने २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

आज नै हुने दोश्रो क्वाटरफाईनल खेलमा बेल्जियमले इटलीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल राति १२ बजेर ४५ मिनेटवाट जर्मनीको म्युनिकमा हुनेछ । दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए ।

इटली लगातार ३१ खेलमा अपराजित छ । ईटली सन् १९६८ को विजेता र सन् २००० तथा २०१२ मा उपविजेता बनेको थियो । उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । उपाधि दाबेदार मध्ये एक रहेको बेल्जियम १९८० मा युरोकपमा उपविजेता बनेको थियो ।