नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

सिद्धिचरण नगरपालिकाका एक प्राविधिक ३० हजार घुस सहित पक्राउ

ओखलढुङ्गान्युज असार १६, ओखलढुङ्गा जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकामा कार्यरत एक प्राविधिक तीस हजार घुस रकम सहित पक्राउ परेका छन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले नगरपालिकामा खटाएका प्राविधिक राजन पासवान सेवाग्राहीसँग घुस लिएको अवस्थामा मंगलवार साँझ पक्राउ परेका हुन् ।

मंगलबार साँझ पक्राउ परेका सबइञ्जिनियर (प्राविधिक) पासवानले सेवाग्राहीसँग घुस रकम मागेको सूचना प्रहरीले पाएको थियो । प्रहरीले सूचना पाउनसाथ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग  समन्वय गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले बताए ।

पक्राउ परेका प्राबिधिक पासवानले भूकम्पका पिडित पुनःनिर्माणका लाभग्राहीसँग असार मसान्तमा अन्तिम किस्ता रकम निकासा गराउने भन्दै ३० हजार मागेका थिए । सिद्धिचरण नगरपालिका वडा नं। १ मा कार्यरत पासवानले वडा नं. २ निसंखेका सेवाग्राहीसँग घुस लिएको अवस्थामा मंगलवार पक्राउ परेका हुन् । प्राविधिक पासवानलाई पक्राउ गरेर बुधबार विहानै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल पठाइएको प्रहरी नायव उपरीक्षक काफ्लले बताए ।