नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

निषेधाज्ञा एक हप्ता थप, मंगलबारवाट ओखलढुङ्गामा बजार खुल्ने

ओखलढुङ्गान्युज । असार १४, ओखलढुङ्गा । शोमबार ओखलढुङ्गामा बसेको जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको अबधि थप गरेको छ । शोमबार बसेको बैठकले आगामी असार २१ गते राती १२ बजेसम्मका लागि केही खुकुलो बनाउदै निषेधाज्ञाको अबधी थप गरेको हो ।

शोमबार थप गरेको निषेधाज्ञाको अबधीमा भने नागरिकहरुको सेवालाई मध्य नजर गर्दै केही खुकुलो बनाएको छ । मंगलबारवाट जिल्लामा सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरु सार्वजनिक विदाको दिन बाहेक सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दै विहान १० बजे देखी ४ बजेसम्म खुला रहने छन् । त्यस्तै पुस्तक तथा स्टेशनरी पसलहरु विहान १० बजेदेखी दिउसो ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

त्यसैगरि खाद्यान्न, तरकारी, फलफुल, दुग्धजन्य पद्धार्थ तथा मासुजन्य पद्धार्थ विक्रि वितरण गर्ने पसलहरु विहान ७ बजे देखी दिउसो ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यसैगरि हार्डवयर, लत्ताकपडा, भाडाँकुडाँ, फेन्सी, मोबाईल पसलहरु पनि विहान १० बजेदेखी दिउसो ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् । यस भन्दा बाहेकका सवारी साधन, सरकारी कार्यालयहरु, विद्यालयहरु सञ्चालनको हकमा भने यसभन्दा अगाडी भएका निर्णय अनुसार नै हुने जिल्ला प्रशासन कार्यालयवाट जारी सूचनामा उल्लेख गरिएको छ ।