नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मनसुन सक्रिय, तीन दिन भिषण पानी पर्ने

ओखलढुङ्गान्युज । असार १३, काठमाण्डौं । नेपालमा वर्षातका मौसम सक्रिय भएको छ । सक्रिय भएको मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका विभिन्न ठाउँमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आईतवार बिहान देशभरको मौसम बदली रही प्रदेश १ र बागमती प्रदेशको केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो पनि देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र  बागमती प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना छ।

त्यस्तै सोमबार दिउँसो देशभर मौसम बदली रही केही स्थानमा वर्षा तथा प्रदेश १ र बागमती प्रदेश एक वा दुई स्थानमा भने राती पनि भीषण वर्षाको सम्भावना रहेको छ । मंगलबार दिउँसो देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा राती पनि भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले भीषण वर्षा हुने स्थानमा पहिरो जोखिम रहेको र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।