नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

नेकपा (माओवादी केन्द्र) का १४ जनप्रतिनिधि कार्वाहीमा 

ओखलढुङ्गान्युज । असार ७, काठमाडौँ । सोमबार बसेको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकले स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पदबाट हटाउने निर्णय गरेको छ । माओवादी केन्द्रले नेकपा (एमाले)मा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रीय कमिटी बैठकले एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाइ कारबाही गर्ने अधिकार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो । अध्यक्ष प्रचण्डले कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । तर निर्वाचन आयोगले केन्द्रीय कमिटीको निर्णय चाहिने जनाउँदै कारबाही प्रक्रिया अघि बढाएको थिएन । जसले गर्दा कारबाहीमा परेका जनप्रतिनिधि यथावत् रहेका थिए ।

निर्वाचन आयोगले केन्द्रीय समितिको निर्णय नै माग गरेपछि शोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले कार्बाही गर्ने निर्णय गरेको माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले बताए । माओवादी केन्द्रको कार्वाहीमा परि पद गुमाउनेहरुमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा रहेका छन् । 

त्यस्तै गोनाही नगरपालिका उपप्रमुख परनियादेवी देवाही, मौलानपुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, विजयपुर नगरपालिका उपप्रमुख कान्तीदेवी फतुवा, मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह रहेका छन् ।

त्यसैगरी कारबाहीमा परि पद गुमाउनेहरुमा सिरहाको लहान नगरपालिका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलालीको भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका-४ का वडाध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४ वडाध्यक्ष पुरन बिसी र ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन् ।