नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुन्छ ः कांग्रेस सचेतक कार्की

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुङ्गाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले यस्तो आरोप लगाएका हुन् ।

पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरुको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन । घेराबन्दीमा भित्ररहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठूलो अनियमितता भएको छ उनले बताए । कार्कीले प्रदेश नं. १ आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसावले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भएपनि सरकारको कार्यशैलीले संभावना कमजोर भएको सुनाए ।

मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको कार्कीले बताए । आफू निकटका कार्यकर्ताको भरणपोषणमा केन्द्रीत हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक नपरेको भन्दै प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैंसीलाई एकमुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरे ।

प्रदेश नम्त्रर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अल्मलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरु जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरु छन् भन्ने हेक्का नराखेको पाइएको आरोप लगाए । कार्कीले वडामा मात्र सीमित हुने भए वडाको अध्यक्ष भएर बस्न प्रदेशका मन्त्रीलाई सुझाव दिए ।

अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझ्नु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गरे ।

कांग्रेस राजनीतिबारे बोल्दै उनले भदौं १९ सम्ममा नेपाली कांग्रेसको चौधौ महाधिवेशन अनिवार्य गर्नु पर्ने भएकोले लोकतन्त्र र पर्टीलाई सशक्त बनाउने नेतृत्वको खोजी भईरहेको बताए ।