नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

गाउँपालिकाको समन्वय विना नै संघ तथा प्रदेश कार्यालयको योजना सञ्चालन

ओखलढुङ्गान्युज । असार ६, ओखलढुङ्गा । जिल्लाको चिशंखुगढी गाउँपालिकामा चालु आर्थिक वर्षमा आधा दर्जन बढि संघ तथा प्रदेश कार्यालय मार्फत योजनाहरु सञ्चालन भए । योजना सञ्चालनको बारेमा गाउँपालिकाका केही नागरिकलाई त थाहा भयो । तर गाउँपालिकालाई आधिकारीक रुपमा केही जानकारी भएन । न त योजनाको बजेट नै ।

आर्थिक वर्ष २०७७÷७८ सकिनै लाग्दा योजनाका कामहरु तिव्र गतिमा सञ्चालन भए । कतिपय योजनाहरुमा काम पछाडी गर्ने तर भुक्तानी चाहि लिई राख्ने भन्दै भुक्तानीका लागि विल भर्पाईहरु बन्न थाले । नागरिकहरुले काम नै नगरी भुक्तानी लिन लागेको कुरा थाहा पाएपछि जनप्रतिनिधीको मिलेमतो भएको आशंकामा विरोध गर्न थाले । केही नागरिकहरुले खुल्ला रुपमा नै जनप्रतिनिधीले मिलेमतोमा अनियमितता गरेको आरोप समेत लगाउन थाले ।

नागरिकहरुको गुनासो आएपछि चिशंखुगढी गाउँ कार्यपालिकाको गत २०७८ साल जेठ २० गतेको बैठकले निर्णय समेत गरि सम्बन्धित कार्यालयको ध्यानाकर्षण गराएको छ । आफ्नो कार्यक्षेत्र भित्र सञ्चालन भएका योजनाका तालुकदार निकाय संघ सरकार अन्तर्गतका कार्यालय र प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुलाई जेठ ३० गते ध्यानाकर्षण पत्र लेखेको हो । जसको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई समेत दिएको गाउँपालिकाले दिएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘चिशंखुगढी गाउँपालिका क्षेत्रभित्र संघ र प्रदेश सरकार मातहतका कार्यालयहरुवाट सञ्चालन भएका कार्यक्रम तथा योजनाहरुका बारेमा गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयहरुलाई जानकारी नगराई योजना कार्यान्वयन गरिएको पाईयो । योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय तहलाई किन जानकारी गराउन नपर्ने हो ? यो अवस्थाको सिर्जना किन भयो ? संघ तथा प्रदेश सरकार मार्फत मातहत रहि योजना सञ्चालन गर्दा संघियताको मूल मर्म विपरित भएको पाईयो । तसर्थ गाउँपालिका भित्र सञ्चालन हुने त्यस्ता योजनाहरु सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, वडा कार्यालयलाई जानकारी गराई आरम्भ गर्दा तथा योजना सम्पन्न भैसके पश्चात पनि क्रमागत योजनाहरुको समेत अनिवार्य रुपमा आर्थिक वर्षको अन्त्यमा सार्वजनिक सुनुवाई गरेर मात्र भुक्तानी दिने व्यबस्था मिलाउन सम्बन्धित कार्यालयलाई ध्यानाकर्षण गराउने कार्यपालिकाको बैठकले निर्णय गरेकोले सोहि बमोजिम गर्न गराउनुहुन अनुरोध छ ।’

गाउँपालिकाले गराएको ध्यानाकर्षणको बारेमा संघ तथा प्रदेश सरकार मातहतका कार्यालय प्रमुखहरुले भने गाउँपालिकालाई जानकारी गराएर वडाको समन्वयमा नै योजना सञ्चालन गरिरहेको बताएका छन् । कार्यालयहरुले सम्त्रन्धित वडासँग समन्वयमा पारदर्शी ढंगले काम गरिरहेको बताएपनि संघ तथा प्रदेश कार्यालयवाट सञ्चालन भएका कुनै पनि योजनामा सूचना पाटी पनि राखिएको छैन । योजनाको कुल लागत कति हो, कहिले सुरुवात र कहिले सम्म सकाउने भन्ने बारेमा नागरिकहरुले पाउनुपर्ने हकवाट बञ्चित गरिएको छ । सञ्चालित योजनाहरुको सार्वजनिक सुनुवाई समेत गराएका छैनन् । 

गाउँपालिकाको पत्र :