नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

ज्यामिरे सामुदायीक वनमा बृक्षारोपण

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. ९ मा पर्ने ज्यामिरे सामुदायीक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वन डिभिजिन कार्यलय ओखलढुङ्गाको सहयोगमा ४ सय ५० बोट अम्बाको विरुवा सामुदायीक वनमा लगाईएको छ ।

डिभिजन वन कार्यालयले उपलब्ध गराएको उक्त अम्बाको विरुवालाई स्थानीय नागरिकहरुले सामुदायीक वनका विभिन्न भागमा लगाएका छन् । केहि महिना अगाडी उक्त सामुदायीक जंगलमा आगलागी हुदा हजारौं बोट विरुवाहरु जलेर नष्ट भएका थिए । विरुवा जलेर नष्ट भएपछि वन डिभिजन कार्यालयले सामुदायीक वनमा अम्बाको विरुवा उपलब्ध गराएको सामुदायीक वनका अध्यक्ष तेज नारायण श्रेष्ठले बताए ।

तर एउटै सामुदायीक वनमा पूर्व तयारी विना ठूलो संख्यामा अम्बाको विरुवा उपलब्ध गराएर खाए खा नखाए घिच भन्ने उखान झै वन डिभिजनले गरेको स्थानीय एक उपभोक्ताले बताए । सामुदायीक वनमा आगलागी पश्चात यती ठूलो मात्रामा अम्बाको विरुवा भन्दा पनि छिटो बढ्ने खालको विरुवाको आवश्यकता थियो । यती ठूलो संख्यामा अम्बाको विरुवा त लगाईयो तर यो बढेर फल्ने सम्भावना चाहि ५ प्रतिशत पनि नभएको उनले बताए ।

सामुदायीक वनको योजना अनुसार नभएपनि वन डिभिजन कार्यालयले उपलब्ध गराएकोले आफूहरुले किन सदुपयोग नगर्ने त भनेर सामुदायीक वनमा लगाएको सामुदायीक वनका कोषाध्यक्ष छविरमण पराजुलीले बताए । वनको आवश्यकता अनुसारको योजना अरु नै भएपनि योजना विना नै वन डिभिजन कार्यालयले अम्बाको विरुवा उपलब्ध गराएकोले आफूहरुले लगाएको पराजुलीको भनाई छ । वनमा विरुवा लगाउनु राम्रो भएपनि सामुदायीक वनमा यती धेरै लगानीमा अम्बाको विरुवा लगाउनु योजना सकाउने काम मात्रै भएको उनको धारणा छ । उनले भने, ‘सामुदायीक वनलाई आएको विरुवा लाउदिन, अन्तै लैजाउ पनि भन्न सकिएन ।’

वन डिभिजन कार्यालयले बर्षेनी लाखौको लगानीमा विरुवा सामुदायीक वनलाई उपलब्ध गराउदै आएको छ । विरुवा उपलब्ध गराउदा वन कर्मचारीहरुले आर्थिक चलखेल गरेको आरोप पनि लाग्दै आएको छ । यसरी आवश्यक स्थान भएपनि विरुवा लगाउन उचित स्थान र विरुवाको जात पहिचान नगरि विरुवा उपलब्ध गराईनुले आरोपमा थप बल पुग्ने गरेको छ ।