नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

खोटाङमा मिनि अक्सिजन प्लान्ट जडान सुरु

ओखलढुङ्गान्युज असार , खोटाङ कोभिड संक्रमितलाई आईशोलेसनमा राखेर उपचार गर्नुपर्दा अक्सिजनको अभावको समाचार आउदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको छ । कोरोनाको महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो ।

गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाको पहलमा प्राथमिक स्वास्थ्य केन्द्रमा एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको हो । राष्ट्रिय आविष्कार केन्द्रका ७ जनाको टोलीले बिहीबारदेखि तीन दिनमा काम सक्ने गरी मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेका छन् । जिल्ला अस्पताल दिक्तेलमा अक्सिजन प्लान्ट जडानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट बिनियोजन गरिसकेको अवस्थामा ऐसेलुखर्क गाउँपालिकाले आफ्नै पहलमा मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरेको हो । 

ऐसेलुखर्क गाउँपालिकामा खोटाङमै पहिलो मिनि–अक्सिजन प्लान्ट जडानको काम थालिएको हो । मिनि–अक्सिजन प्लान्ट जडानपछि महामारी थप जटिल बने र संक्रमितलाई अक्सिजनको आवश्यकता परेको अवस्थामा अक्सिजनको अभाव नहुने गाउँपालिकाका अध्यक्ष निरौलाले बताए । विभिन्न उपकरणको प्रयोगमा ७ वटा अक्सिमिटरबाट संकलन गरिएको अक्सिजन ट्यांकीमा पु¥याउने र ट्यांकीबाट पाइपमार्फत बेडमा पुर्याउने व्यवस्था मिलाइने छ ।

मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब २० लाखको दुई गाडी सामग्री ऐसेलुखर्क गाउँपालिका पु¥याइएको छ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महाबीर पुनलाई आग्रह गरेर मिनि–अक्सिजन प्लान्ट जडानको काम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । 

पत्रकार दमन राईको सहयोगमा