नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

अन्तरजातिय विवाह गरेको कारण छोराहरुले बाबुको शब छुन पाएनन्

ओखलढुङ्गान्युज असार , ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकाका वडा नं. ३ कालिकाका मित्र बहादुर तामाङको केहिदिन अगाडी मृत्यु भयो । तर तामाङको मृत्यु हुँदा उनका चारभाइ छोराहरुमध्ये दुईजनालाई समाजले छोराहरुलाई बाबुको शब छुन र काजक्रिया गर्न दिएनन् । कारण थियो तामाङका छोराहरुले अर्कै जातका महिलासँग अन्तरजातिय विहे गरेका थिए ।

७० वर्षका मुटुरोगका विरामी तामाङको जेठ २९ मा नै मृत्यु भएको थियो । बाबुको मृत्यु भएको खबर पाउनासाथ रोजगारको शिलशिलामा जिल्ला बाहिर रहेका छोराहरु रातारात घर आईपुगेका थिए । मृतक बाबुको शबलाई घाटमा लैजान र चितामा राखेको लासमा एकमुठी माटो चढाउन समेत दुवै दाजुभाइलाई दिईएन । कारण तामाङका चारभाइ छोराहरु मध्ये माईलाले क्षत्री थरका र कान्छोले दलित नेपाली थर भएकी महिलासँग विहे गरेका थिए ।

अन्तरजातीय बिहे गरेको कारण देखाएर आफूहरूलाई बुबाको अन्त्येष्टिमा सहभागी हुन नदिइएको उनीहरूको गुनासो छ । आफुहरुले नै भोट दिएर जिताउको वडाअध्यक्ष बलबहादुर तामाङले समुदायलाई उकासेर बुबाको मुख हेर्नसम्म नदिएको उनीहरुको आरोप छ । घरमा बुबाको काजकिरिया चलिरहँदा माइलो र कान्छो यति बेला काठमाडौंमै छन् । उनीहरूका अनुसार अन्त्येष्टिका मुख्य पुजारी लामाले क्रियापुत्रीको रूपमा सहभागी हुन मिल्छ भनेपनि वडाअध्यक्ष बलबहादुर तामाङको नेतृत्वको गाउँलेहरूले रोकेका हुन् ।

लासलाई चितामा चढाउने क्रममा तिमीहरुले छोयौ भनेपनि हामी फर्कन्छौ भनेर मलामीले भन्दा आमा रुनुभएकोले आफुहरु त्यसै फर्किएर काठमाण्डौं आएको दुई दाजुभाइ बताउछन् । देशमा भएको कानून र समाजको कानून फरक हुने भएकोले कानूनी रुपमा जहाँ गएपनि अन्तिममा गएर मिल्ने ठाँउ समाज नै भएको भन्दै वडा अध्यक्षले थर्काएको दाजुभाइको आरोप छ । सोही गाउँका युवा राजु तामाङले दुई वर्षअघि हजुरबुबा बित्दा आफूलाई अन्तरजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताए ।

वडाअध्यक्ष बलबहादुर भने आरोप सरासर झुटो भएको बताए । दलित अर्कोजातको विहे गरेकै कारण छोराहरुलाई लास छुन नदिुभएको हो भन्ने ओखलढुङ्गान्युज डटकमको प्रश्नमा वडा अध्यक्ष तामाङले दुईभाइ छोराहरुले अर्को जातको केटी विहे गरेको बारेमा आफुलाई उनीहरु आएपछि मात्रै थाहा भएको बताए । बाबुको मृत्यु भएपछि घर आएका उनीहरुले आफूहरुले अर्को जातको केटी ल्याएकोले बाबुको काजकृया जेठो, साईलो र आमाले नै गर्नु भनेर हिडेको तर अहिले काठमाण्डौंबाट फरक फरक कुरा गरिरहेको वडा अध्यक्ष तामाङले बताए । उनीहरुको दाजुभाइको विषयमा आफ्नो कुनै सरोकार नरहेको वडाअध्यक्ष तामाङको प्रष्टिकरण छ । तर उनले मंगलबार केही सञ्चारकर्मीसँगको टेलिफोन कुराकानीमा भने तामाङ समुदायको संस्कार भएकाले त्यही अनुसार गरिएको जवाफ दिएका थिए ।