नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

कोरोना विरुद्धको खोप भेरोसेल ओखलढुङ्गामा पनि लगाईदै

ओखलढुङ्गान्युज । जेठ २५, ओखलढुङ्गा । देशव्यापी रुपमा आज (मंगलवार) वाट कोरोना विरुद्धको खोप भेरोसेल लगाउने भएको छ । चीन सरकारवाट ल्याएको कोरोना विरुद्धको खोप भेरोसिललाई ओखलढुङ्गामा पनि ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचनामा यो खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई दिईने बताएको भएपनि अन्तिम चरणमा उमेर समूह परिवर्तन गर्दै ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाउन निर्देशन दिएको छ । तर संशोधित सूचना अनुसार ओखलढुङ्गामा भने खोप लगाउने व्यक्तिहरुको उमेर समूह तालिकामा परिवर्तन नहुने जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

स्वास्थ्य प्रमुख तिवारीका अनुसार स्वास्थ्य मन्त्रालयको पूर्व सूचना अनुसार नै ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने गरि जिल्लाका सबै स्थानीय तहका स्वास्थ्य चौकीहरुमा खोपको मात्रा पुगिसकेको छ । स्थानीय नागरिकहरुलाई गरिएको सूचना अनुसार खोप लगाउन आउने भएकोले उमेर समूह परिवर्तन निर्देशन मान्दा समस्या हुने भएकोले आफुहरुसँग उपलब्ध भएको खोपको मात्राले भ्याएसम्म ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई खोप दिईने तिवारीले बताउनुभयो ।

अभियान अन्तर्गतको यो खोप हिमाली जिल्लामा यसअघि नै ५५ वर्ष माथिकालाई खोप दिइएकोमा छुट भएकाहरुलाई सोही उमेर समूहकालाई दिइने बताइएको छ । तिब्बतसँग सिमा जोडिएका जिल्लामा भने १८ देखि ६४ वर्ष उमेर समूहकालाई नै दिइने बताइएको छ।