नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

लिखु गाउँपालिकामा एक पुरुषको मृत्यु, कोरोनाको आशंका

ओखलढुङ्गान्युज । जेठ २३, ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिकामा आइतबार कोरोना संक्रमण भएको आशंका गरिएका एक पुरुषको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएका लिखु गाउँपालिका वडा नम्बर ३ नर्मदेश्वर निवासी अन्दाजी वर्ष ५४ का एक पुरुषको आइतबार दिउँसो मृत्यु भएको हो ।

मृतक पुरुष शारीरिकरुपमा अशक्त रहेका थिए । उनको परिवारमा रहेका केही सदस्यहरुलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष पनि केही दिनदेखि अश्वस्थ रहँदै आएका थिए । ज्वरो र सामान्य रुघाखोकीले बिरामी परेका मृतकको विरामी हुदाको लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो देखिएको स्थानीयले बताएका छन् । 

आइतबार बिहानसम्म सामान्य अवस्थामा रहेका मृतकको एकाएक स्वास्थ्यमा खराबी देखिएपछि गाउँपालिकाको स्वास्थ्यकर्मी सहितको टोली मृतकको घरमा पुगेको थियो । मृतकमा कोरोना संक्रमण भए नभएको बारेमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले एन्टिजेन परीक्षण गर्ने तयारी गर्दागर्दै उनको मृत्यु भएको बताइएको छ । यसअगाडि पनि गाउँपालिकाबाट कोरोना परीक्षण गर्न प्रयास गर्दा मृतक तथा मृतकको परिवारले नमानेको पालिकाले जनाएको छ । 

उता जिल्ला प्रशासन कार्यालयले भने मृतकको पिसिआर तथा एन्टिजेन परीक्षण नगरिएकोले कोरोना भाइरस संक्रमणका कारण नै उनको मृत्यु भएको भन्न नसकिने जनाएको छ । मृतकको स्वाब परीक्षण नगरिएको र मृत्यु हुनुभन्दा अगाडी कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको भन्ने आएकोले कोभिड सम्बन्धी मापदण्डअनुसार शबलाई दहन गर्ने व्यवस्थागर्न पालिकालाई जानकारी गराईएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो ।