नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

मन्त्री गुरुङले गरे कुन्तादेवीका अग्नि पिडितको घर शिलान्यास

ओखलढुङ्गान्युज जेठ २३, कुन्तादेवी ओखलढुङ्गाको मोलुङ गाउँपालिका १ कुन्तादेवीका आगलागी पीडित परिवारका लागि प्रदेश नं. १ का मन्त्रीले आवास निर्माणको शिलान्यास गरेका छन् । प्रदेश सरकारको सहयोगमा जनता आवास कार्यक्रम मार्फत कुन्तादेवीका अग्नी पीडितको घर निर्माणको लागि प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले शनिवार शिलान्यास गरेको हुन् ।

गत चैत्र १५ गते भएको आगलागीमा स्थानीय धनबहादुर केसी, निरबहादुर प्रधान, पेशल प्रधान, निरकुमार प्रधान  र मनिकुमार प्रधानको घर जलेको थियो । आगलागीमा परेको घर तथा परिवारलाई भेट्न आगलागी भएकै दिन संघिय सांसद यज्ञराज सुनुवार र प्रदेश नं. १ का अर्थ समितिका सभापति एवम् ओखलढुङ्गाका प्रदेश सांसद मोहन कुमार खड्का केहि खाद्यान्न राहत सहित कुन्तादेवीमा पुगेका थिए ।

पछि जेठ ५ गते अग्नी पीडितलाई राहत दिन मन्त्री गुरुङ पुगेका थिए । सोहि दिन तत्कालका लागि प्रदेश सरकारको तर्फबाट ५ परिवारलाई ५० हजारका दरले २ लाख ५० हजार र आफ्नो व्यक्तिगत तर्फबाट प्रतिपरिवार २५ हजारका दरले १ लाख २५ हजार रुपैयाँ राहत उपलब्ध गराएर आवास निर्माण समेत गरिदिने आवश्वासन दिएका थिए ।

आफूले दिएको आश्वासन अनुसार कुन्तादेवीमा ५ अग्नि पिडितको घर जनता आवास कार्यक्रम मार्फत निर्माण हुनेगरि शिलान्यास गरेका हुन् । उक्त घरहरु शहरी विकास तथा भवन निर्माण डिभिजन अन्तरगत जनता आवास कार्यक्रम मार्फत निर्माण हुनेछन् । घर बिहिन बनेका प्रकोप पीडितका घर तत्काल निर्माण सम्पन्न गरेर वर्षा अगावै घरभित्र सुरक्षित बस्ने वातावरण बनाउन मन्त्री गुरुङले निर्देशन दिएका छन् ।

कुन्तादेवीका अग्नी पीडितले घर निर्माणका लागि प्रतिघर ३ लाख ५० हजार रुपैँया पाउने छन् । ५ वटा घर बनाउन कन्सलटेन्सी सहित ३ लाख ५० हजारका दरले प्रदेश सरकारबाट रकम उपलब्ध भएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सुमन मिश्रले बताए ।