नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा आउन लागेको आइसियु वेड र भेन्टिलेटरमा भोटको राजनीति

ओखलढुङ्गान्युज जेठ १८, ओखलढुङ्गा गत २०७८ जेठ ३ गते सामुदायिक अस्पताल सोब्रु (मिसन) मा भेन्टिलेटर जडान गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य मन्त्रालयमा अनुरोध गर्ने निर्णय गर्यो । बैठकमा अस्पतालमा कोभिड १९ केयर युनिट सञ्चालन गरेर २० वेडमा अक्सिजनसहित कोरोना संक्रमितको उपचार शुरु गरिएको र भेन्टिलेटर आवश्यक भएकोले प्रदेश सरकारसँग माग गर्ने विषय उठेको थियो ।

जिल्ला कोभिड १९ संकट व्यबस्थापन केन्द्रको निर्णय र मन्त्रालयलाई लेखिएको पत्र :

 

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णय लगत्तै अस्पतालले उक्त निर्णयसहितको पत्र मन्त्रालय पठायो । पत्रलाई लिएर विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार सोही दिन मन्त्रालयमा पुगेर अस्पताल तथा निर्णयको बारेमा समेत जानकारी गराए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ १४ गतेको चलानी नं. २३४९ को पत्रबाट अर्थ मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले ५ आइसियु बेडसहित २ भेन्टिलेटर छिटो तरिकाबाट खरिद गरेर जडान गर्न र सृजित दायित्य प्रदेश नं. १ सामाजिक विकास मन्त्रालय मार्फत भूक्तानी माग गर्न जेठ १६ गते परिपत्र गर्यो । जिल्लाको निर्णय र अस्पतालको मागसहित पटकपटक मन्त्रालय पुगेका विघटित प्रतिनिधी सभाका निवर्तमान सांसद यज्ञराज सुनुवारले जिल्लामा भेन्टिलेटर र आइसियु वेड नहुँदा विरामीले हेलिकोप्टर चार्टर गरेर महंगोमा उपचार गराउनु पर्ने बाध्यता अब हट्ने स्टाटससहित मन्त्रालयको परिपत्र फेसबुकमा हाले ।

परिपत्रपछि कोभिड १९ केयर युनिटमा आइसियु र भेन्टिलेटर जडान हुने कुराले नागरिकहरु खुसी थिए । अस्पतालले पनि तुरुन्तै खरिद प्रकृया अघि बढाउने तयारी थालेको थियो । मास्क वितरणमा समेत राजनीति हुँदै आएको जिल्लामा यसपछि सांसद सुनुवार माधव नेपाल समुहमा लागेकाले ओलि समुहका कार्यकर्ताले यो ओलि सरकारले गरेको भन्दै फेसबुकमा जुहारी खेल्न थाले । माथिल्लो तहका नेतासम्म जुहारीमा संलग्न देखिए ।

यो जुहारी फेसबुकमा मात्र सिमित भएन । आइसियु वेड र भेन्टिलेटर जडान गर्ने निर्णयलाई अन्ततः स्वास्थ्य मन्त्रालयले १ दिन पछि नै जेठ १७ गते सोमबार परिवर्तन गर्दै ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुको सट्टा ओखलढुङ्गा जिल्ला अस्पतालमा स्थापना गर्ने परिपत्र गर्यो । तर कहिल्यै रुम्जाटार अस्पतालले आइसियु र भेन्टिलेटर माग गरेको थिएन ।

मन्त्रालयको फेरिएको पत्र :

 

मन्त्रालयको दैनिक परिपत्र फेरिएको विषयमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस विषयमा आफु अनभिज्ञ भएको बताए । उनले टेलिफोनमा भने, विस्तृत कुरा डा. समिरलाई थाहा हुन्छ, सोध्नुहोला ।’ सह प्रवक्ता समिरि अधिकारीले पटक पटक फोन र एसएमएस गरे पनि सम्पर्कमा आएनन् ।

मन्त्रालयका एक अधिकृतले उप प्रधानमन्त्री ईश्वर पोखरेलको दवावमा परिपत्र फेरिएको नाम उल्लेख नगर्ने शर्तमा बताए । ‘प्रदेशदेखि माथिसम्मकै दवाव छ बोल्न सकिदैन ।’ प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीर गुरुङको दवावपछि उपप्रधानमन्त्री पोखरेलले दोस्रो परिपत्र गर्न लगाएको बताइएको छ ।

आइसियु वेड तथा भेन्टिलेटरका लागि पहल गर्ने निवर्तमान सांसद सुनुवार माधव समुहमा लागेकाले ओलि समुहले राजनिती गरेर परिपत्र नै फेर्न लगाएको जिल्लास्थित नेता कार्यकर्ताको आरोप छ ।  एमालेका जिल्ला नेता दिपक फुयलले जनघनत्व, सेवाका हिसाबले सामुदायिक अस्पतालमा आइसियु वेड तथा भेन्टिलेटर अत्यावश्यक र शुरुको निर्णय सहि भएको बताए । उनले भने, ‘२० वेडको कोभिड–१९ केयर युनिट पनि भएकाले सामुदायिक अस्पतालमा अत्यावश्यक थियो, पहुँच देखाउनेले जिल्ला अस्पताललाई थप बजेट ल्याउनुपथ्र्यो, भएको कटाउनु तुच्छ राजनीति हो ।

रुम्जाटारमा सरकारी अस्पताल भए पनि सेवा प्रभावकारी नभएपछि १५ शैया वेडको उक्त अस्पतालमा विरामी न्यून मात्रै जाने गरेका छन् । रुम्जाटारमा अक्सिजन प्लान्टका लागि भनेर गत आर्थिक वर्षमा आएको ५० लाख बजेट पनि फिर्ता गएको थियो । त्यसैका लागि अर्थ मन्त्रालयले यो वर्ष फेरि २५ लाख निकासा गरेको छ ।