नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गामा कोरोना संक्रमित संक्रमितको शबले घाट पाएन

ओखलढुङ्गान्युज । जेठ १६, ओखलढुङ्गा । जिल्लामा मृत्यु भएका कोरोना संक्रमितको शवले घाट नपाउदा २४ घण्टापछि मात्रै व्यवस्थापन गरएिको छ । कोरोना संक्रमणका कारण जिल्लाको सामुदायिक अस्पताल सोब्रुमा शनिबार बिहान मृत्यु भएका खिजीदेम्वाका एक पुरुषको शव आइतबार बिहान मात्रै दाहसंस्कार गरिएको हो ।

कोरोना भाइरसका संक्रमितहरुको उपचार गर्ने स्थान नजिकै उपचारका क्रममा ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या आएको हो । डिसीसीएमसीको पटकपटक बसेको बैठकले समेत अहिलेसम्म सदरमुकाममा कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने अतिरिक्त ठाउँ तोक्न सकेको छैन । अस्पताल नजिकैको लिपे खोला र सिस्ने खोलामा ठाउँ हेरिए पनि स्थानीयको अवरोधले शव व्यवस्थापन स्थलका रुपमा प्रयोग गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो ।

केहिदिन अगाडी सरोकारवालाहरुको सहभागीतामा सुरक्षा निकायका अधिकारीहरुले स्थलगत अध्ययन गरे लगत्तै स्थानीयले राजनीतिक पहुँच प्रयोग गरेर सिस्ने खोलामा शव दाह स्थलको रुपमा प्रयोगमा ल्याउन नदिन प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएका थिए । राजनीतिक शक्तिको दबाबका कारण शवदाह गर्ने स्थल अन्यौलमा परेको छ । सहमतिको आधारमा काम गर्न नसकिए बल प्रयोग गरेरै भएपनि नेपाली सेनाले संक्रमितको शब ब्यबस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी राइले बताउनुभयो ।

शनिबार ज्यान गुमाएका अर्का व्यक्तिको शव भने आफन्तले आफ्नै जग्गामा लगेर व्यवस्थापन गरेका थिए । खिजीदेम्वाका ती व्यक्तिको शव नेपाली सेनाको सहयोगबाट लिपे खोलामा आइतबार दाहसंस्कार गरिएको छ ।

शनिबार झरी परेका कारण जलाउन तथा शव गाड्न उपयुक्त स्थान पहिचान हुन नसक्दा अस्पतालमै रहेको थियो । सामाजिक संस्कार फरक फरक भए पनि कोरोना संक्रमितको शव व्यवस्थापनमा सरकारले तोकेको मापदण्ड जिल्लामा कार्यन्वयनमा नआएको भन्दै सरोकारवाला र राजनीतिक दलले भने विरोध जनाएका छन् ।

शव व्यवस्थापन मापदण्ड पालना गरेर उचित व्यवस्थापन गर्न नागरिक समाजले ज्ञापन पत्र नै स्थानीय तह र जिल्ला प्रशासनमा बुझाएको थियो । जग्गा व्यवस्थापन गर्ने मूख्य जिम्मेवारी स्थानीय तहको भए पनि त्यसबारे चासो नदिएकाले समस्या आएको हो । यसअघि व्यवस्थापन गरिएका दुई शवको विषयमा पनि स्थानीयले लापरवाही भएको भन्दै विरोध जनाएका थिए ।

जिल्लामा पाँच जनाको कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ती मध्ये तीन जनाको शव व्यवस्थापनमा समस्या आइसकेको छ । कोरोनाको त्रासले छरछिमेक र अभिभावक डराउने र सरकारी निकायले समयमा शव व्यवस्थापन गर्न शव वाहन, जनशक्ति र स्थान नतोक्दा यस्तो समस्या आएको हो ।