नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

शुक्रबार ओखलढुङ्गामा थपिए ६४ संक्रमित

ओखलढुङ्गान्युज । जेठ १४, ओखलढुङ्गा । ओखलढुङ्गामा शुक्रबार पछिल्लो २४ घण्टाका कोरोना भाईरसका ६४ जना संक्रमित थपिएका छन् । शुक्रबार थपिएकाहरु मध्ये सबैभन्दा बढि संक्रमित मोलुङ गाउँपालिकामा थपिएका छन् । आज मोलुङ गाउँपालिकामा मात्रै ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।

मोलुङ गाउँपालिकाका ६१ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ४ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार थपिएका नयाँ संक्रमितहरुमा सिद्धिचरण नगरपालिकामा ८ जना, चिशंखुगढी गाउँपालिकामा २ जना, मानेभञ्ज्याङ गाउँपालिकामा २ जना, चम्पादेवी गाउँपालिकामा २ जना, लिखु गाउँपालिकामा २ जना, खिजिदेम्वा गाउँपालिकामा २ जना र सोलुखुम्बु जिल्लाको ३ जना रहेको पनि जिल्ला स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो ।

शुक्रबार नयाँ संक्रमित थपिएसँगै ओखलढुङ्गामा कोरोना भाईरसवाट संक्रमित हुनेको संख्या ५ सय ६८ पुगेको छ । जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार शुक्रबार सम्म ओखलढुङ्गामा ५ सय १६ जना कोरोना भाईरसका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये २८ जना अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका छन् भने ४ सय ८८ जना होम आईसोलेसनमा रहेका छन् ।