नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

शुक्रबार थपिए ओखलढुङ्गामा ८ संक्रमित, मोलुङमा भोलिदेखी स्वाब लिईने

ओखलढुङ्गान्युज बैशाख २४, ओखलढुङ्गा शुक्रबार ओखलढुङ्गामा ८ जना कोरोना भाईरसका संक्रमितहरु थपिएका छन् । थपिएका आठैजनाको कोभिड परीक्षण ओखलढुङ्गामा नै परीक्षण गरिएको भने हैन । कोभिड पुष्टि भएका मध्ये १ जना पुरुषको मात्र ओखलढुङ्गामा परीक्षण गरिएको हो भने बाकी ७ जनाको कामको शिलशिलामा ओखलढुङ्गा भन्दा बाहिर रहेका तर स्थायी ठेगाना भने ओखलढुङ्गा रहेकाहरु हुन् ।

ओखलढुङ्गामा नै परीक्षण गरि कोभिड पुष्टि भएका एकजना मोलुङ गाउँपालिकाका पुरुष हु्न् । उनी मोलुङ गाउँपालिका स्थायी घर भएका मोलुङ गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारी समेत हुन् । कोभिडसँग मिल्दो लक्षण सहितको स्वास्थ्य समस्या भएपछि ती पुरुष कर्मचारीलाई सामुदायीक अस्पताल सोब्रु ल्याएर एन्टिजेन परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुङ्गाका प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।

गाउँपालिकाका कर्मचारी समेत भएकोले उनको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङको काम सुरुवात गरिएको छ । उनका सम्पर्कमा आएकाहरुको शनिवार मोलुङ गाउँपालिकाको कोभिड अस्पतालमा स्वाव परीक्षण गरिने पनि स्वास्थ्य प्रमुख तिवारीले जानकारी दिनुभयो । कन्ट्रयाक्ट ट्रेसिङ सहित स्वाव परीक्षणको तयारी भएपनि एन्टिजेन किटको अभावले पिसिआर परीक्षणका लागि स्वाव नै संकलन गर्न लागिएको तिवारीको भनाई छ । स्वास्थ्य प्रमुख तिवारीका अनुसार स्वाब संकलन गरेर उक्त स्वाबलाई शनिवार नै काठमाण्डौं पठाउने तयारी गरिएको छ ।

पछिल्लो केहिदिन यता मोलुङ गाउँपालिकाका केही वडाहरुमा रुघाखोकी तथा ज्वरोको विरामीहरु देखिन थालेको स्थानीय जनप्रतिनिधीहरुले बताएका छन् । मौसम परिवर्तनका कारण उक्त समस्या देखिएको हुन सक्ने स्थानीय स्वास्थ्यकर्मीहरुले बताएका छन् । तर समस्या कोभिड सँग मिल्दो खालको देखिएपछि समस्या देखिएका नागरिकहरुको समेत कोभिड परीक्षणका लागि जनप्रतिनिधीहरुले आग्रह गरेका छन् ।