नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

कोभिडबाट मृत्यु भए फ्रन्ट लाईनको कर्मचारी परिवारलाई प्रदेश १ सरकारको २५ लाख

ओखलढुङ्गान्युज । बैशाख २३, विराटनगर । कोभिड नियन्त्रणका लागि खटिदै गर्दा कोभिडबाट मृत्युहुने चिकित्सकका परिवारलाई प्रदेश १ सरकारले २५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको छ । कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूको कोभिड–१९ का कारणबाट मृत्यु भएमा २५ लाख क्षतिपुर्ती दिने प्रदेश सरकारले बुधबार निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख  प्रदान गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिनुभयो । कोभिड–१९ का संक्रमितको उपचारका लागि खटिने क्रममा संक्रमित भइ बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने समेत बैठकबाट निर्णय भएको मन्त्री राईले बताउनुभयो ।

मन्त्री राईका अनुसार प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय भएको छ । निर्णय अनुसार चिकित्सक, स्वास्थ्यकर्मी, सवारी चालक र सफाइकर्मी साथै कर्मचारीहरूलाई सुरू तलव स्केलको पचास प्रतिशत जोखिम भत्ता प्राप्त गर्नेछन् ।

मन्त्री राईका अनुसार चिकित्सक र स्वास्थ्यकर्मीका लागि होम क्वारेन्टिनमा बस्न सक्ने अवस्था नभई होटल क्वारेन्टिन बस्नु पर्ने भएमा तोकिए बमोजिमको होटल क्वारेन्टिन तथा चालक, सफाइकर्मी, कार्यालय सहयोगीका साथै व्यवस्थापनमा खटिने अन्य कर्मचारीहरूका लागि प्रदेश सरकारले प्रबन्ध गरेको खाना तथा खाजा सहितको क्वारेन्टिन वा होटल क्वारेन्टिनको प्रबन्ध गर्र्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।