नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

बुधवारवाट ओखलढुङ्गा प्रवेशमा निषेध, प्रशासन भन्छ लकडाउन गरेको हैन

विएन श्रेष्ठ बैशाख २१, ओखलढुङ्गा बुधबारवाट ओखलढुङ्गामा सिद्धिचरण नगरपालिकाले प्रशासनको सहयोगमा सदरमुकाम क्षेत्रमा आवागमनमा रोक लगाएको छ । मंगलवार दिउसो नगरपालिकामा भएको सरोकारवालासँगको छलफल पश्चात नगरपालिका क्षेत्रमा अत्यावश्यक बाहेक र दुईपांग्रे बाहेक सवारी साधन सञ्चालनमा समेत पूर्णतया रोक लगाउने निर्णय गरेको हो ।

पछिल्लो दिनमा कोरोना भाईरस संक्रमणको महामारी बढ्दै गर्दा ओखलढुङ्गामा संक्रमण फैलन ननि के कस्ता तयारी गर्न सकिन्छ भन्ने बारेमा मंगलवार नगरपालिकाले छलफलको आयोजना गरेको थियो । छलफलका क्रममा सहभागी अधिकांसहले जिल्लामा तत्काल लकडाउन गर्नुपर्ने सुझाव दिएका थिए ।

सामान्य संक्रमित मात्र देखिएको अबस्थामा जिल्लामा लकडाउन गर्दा नागरिकमा त्रास फैलन सक्ने भएकोले १० दिनका लागि ओखलढुङ्गामा अत्यावश्यक बाहेकका सबै काम र आवागमनमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकामा संक्रमण नफैलियोस् भनेर बुधबार विहान ६ बजेदेखी बैशाख मसान्तसम्म लागूहुने गरि बजार, होटल, पसल सञ्चालन तथा सवारी आवागमनमा रोक लगाउने निर्णय भएको सिद्धिचरण नगपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरप्रमुख श्रेष्ठका अनुसार नगरपालिका क्षेत्रभर अत्यावश्यक कामको सिलसिलामा चलाईने दुईपाङ्ग्रे बाहेक सबै सवारी साधन सञ्चालन गर्न रोक लगाईएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरेर औषधी तथा स्वास्थ्य क्लिनिक बाहेक होटल, खाद्यान्न तथा किराना पसलहरु विहान ७ देखी १० बजेसम्म र बेलुकी ५ बजेदेखी ७ बजेसम्म सञ्चालन गर्न दिने तथा अरु सबै पसलहरु बन्द गराउने निर्णय गरेको छ ।

त्यस्तै होटल पसल सञ्चालन गर्दा कुनैपनि प्रकारका मदिराजन्य पद्धार्थको वित्रिः वितरणमा भने रोक लगाईएको छ । त्यस्तै साप्ताहिक रुपमा लाग्ने हटियाहरुमा पूर्णतया स्वास्थ्य मापदण्डको पालना गरि स्थानीय स्तरमा उत्पादन भएका तरकारी तथा फलफुल मात्र विक्री वितरण गर्न पाईने छ ।

नगरपालिकामा भएको छलफल पछिको निर्णयलाई कतिपयले लकडाउन भनेपनि जिल्लामा लकडाउन नै भने नगरेको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताउनुभयो । स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रको प्रयोग गर्दै सदरमुकाम आसपासमा केही विषयमा रोक लगाएकोले त्यसलाई सबैले कार्यान्वयन गरि सहयोग गरिदिन समेत प्रमुख जिल्ला अधिकारी राईले आग्रह गर्नुभयो ।

कोरोना संक्रमणलाई रोक्न नेपाल सरकारले गत बैशाख १६ देखि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेसँगै ओखलढुङ्गा आफ्नो घरमा हजारौ फर्किका छन् । कोरोना संक्रमित भएको लक्षण ५ देखी १४ दिन सम्म देखिने डाक्टरहरुको भनाई छ । यदि जिल्लामा फर्कनेहरु संक्रमित भएको भए अब लक्षण देखिन थाल्ने र अबको १० दिनमा त्यसको बास्तविक अवस्था आईसक्ने प्रशासनको भनाई छ । त्यसैले अबको १० दिन सम्म अत्यावश्यक काम बाहेक कुनै वहानामा आवागमन नगर्न, स्वास्थ्य मापदण्डको पूर्णतया पालना गर्न र कोरोना संक्रमणको महामारीलाई रोक्न सहयोग गर्नु हामी सबैको दायीत्व हो ।