नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

एमालेको ओखलढुङ्गा अध्यक्षमा नेत्र भट्टराई, २५५ सदस्यीय जिल्ला कमिटि घोषणा

ओखलढुङ्गान्युज बैशाख १७, ओखलढुङ्गा नेकपा एमाले ओखलढुङ्गाको १७ औं विस्तारित बैठकले जिल्ला अध्यक्षमा नेत्र प्रसाद भट्टराईलाई चयन गरेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञराज सुनुवारको विशेष उपस्थितीमा शुक्रबार बसेको विस्तारित बैठकले भट्टराईलाई अध्यक्ष पदमा चयन गरेको हो ।

शुक्रबार बसेको जिल्लाको विस्तारित बैठकले जिल्ला कमिटिमा खाली रहेको पदहरुमा समेत नयाँ नेतृत्वको टुङ्गो लगाएको छ । जस अनुसार उपाध्यक्षमा मणिराज राई र मेख बहादुर खड्का, सचिवमा हर्कबोल राई, उपसचिवहरुमा अर्जुन धमला, बल बहादुर परियार, नरेन्द्र श्रेष्ठ, मावर सुनुवार र किसन राईलाई चयन गर्दै २५५ सदस्यीय जिल्ला कमिटिको पुनर्गठन गरेको छ ।

गत २०७७ फागुन २३ गते सर्बोच्च अदालतले एमाले र माओवादी केन्द्र विचको एकतालाई अबैधानीक ठहर गरेपछि एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले देशव्यापी रुपमा संगठन विस्तार तथा विभिन्न पदहरुमा नियुक्ति गरेको थियो । अदालतको फैसलासँगै माधव नेपाल समूहले नेकपा एमालेको आठौं महाधिबेशन तथा जिल्ला अधिबेशनवाट निर्वाचितहरुलाई नै नेतृत्व स्विकार गर्ने गरि अगाडी बढ्नु पर्ने बताउदै आएको छ । तर ओली समूहले उक्त कुरालाई अस्विकार गरेपछि नेपाल–खनाल समूहले पनि देशव्यापी रुपमा आफ्नो समानान्तर कमिटि व्युताउने निर्णय गरेको थियो ।

नेपाल–खनाल समूहले समानान्तर कमिटि बनाउने घोषणा गरे अनुसार शुक्रबार ओखलढुङ्गामा भएको नेकपा एमालेको विस्तारित बैठकमा आठौं जिल्ला अधिबेशनवाट निर्वाचित ५८ जनाको जिल्ला कमिटि मध्ये ३० जना बैठकमा सहभागी भएका छन् । उता ओली समूहले पनि एमालेको जिल्ला अध्यक्षमा केदारबाबु बस्नेत र सचिवमा तिर्थ सुवेदीलाई चयन गरेको थियो । तत्कालीन निर्वाचित जिल्ला कमिटिको बहुमत पक्ष आफूहरुसँग रहेकोले नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा रहेको टिम नै नेकपा एमालेको आधिकारीक जिल्ला कमिटी रहेको उक्त पक्षले दावी गरेको छ ।

५८ जना जिल्ला कमिटि सदस्य मध्ये आफुहरुसँग ३५ सदस्य रहेको भएपनि कोभिडका कारण शुक्रबारको बैठकमा ५ जना भने सहभागी हुन नसकेको पनि एक नेताले बताएका छन् । शुक्रबार नयाँ समिति बनेसँगै ओखलढुङ्गामा पनि नेकपा एमालेको औपचारीक रुपमा नै दुई खेमामा रहि समानान्तर कमिटी बनेको छ ।